काठमाडौं । जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले बिपी राजमार्गको ३ दशमलव २ किलोमिटर (पिप्ले–वर्षेखोला) सडकखण्ड पुनर्निर्माण गरिदिने भएको छ । गतवर्ष असोजमा भएको वर्षापछि बिपी राजमार्गको ३० किलोमिटर सडकखण्ड भत्किएको थियो । बिपी राजमार्गले काठमाडौंलाई पूर्वी तराईसँग जोड्छ ।
सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार जाइकाले बिपी राजमार्गको उक्त खण्ड बनाउन २ अर्ब ८० करोड जापानी येन (१ अर्ब ६६ करोड रुपैयाँ बराबर) सहायता दिने भएको हो । अहिले उक्त सडकखण्डको सडकको डिजाइन तथा सर्भेको काम गरिरहेको जाइकाले नै ठेक्का व्यवस्थापन गर्ने बताइएको छ ।
भत्किएको बिपी राजमार्गको सडक पुनर्निर्माण गर्न अर्थ मन्त्रालयले ८ अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चित गरेको थियो । भत्किएको ३० किलोमिटर सडक पुनर्निर्माण गर्न ५ वटा ठेक्का प्याकेज बनाइएको छ‚ जसमध्ये एउटा जाइकाले निर्माण गर्नेछ ।
११ किलोमिटरको भकुण्डेबेँसी–चारसयबेँसी खण्ड पुनर्निर्माण गर्न लामा/नवकान्तीपुर जेभीले ठेक्का पाएको छ । खानी/कमलाजीत/एवान जेभीले ८ दशमलव ५ किमीको चारसयबेसी–डालाबेसी खण्डको ठेक्का पाएको छ ।
वर्षेखेला–नेपालथोक खण्डको ५ किलोमिटर सडक खण्डको पनि ठेक्का सम्झौता भइसकेको छ । २ दशमलव ३ किमीको डालाबेसी–पिप्ले सडकखण्डको ठेक्का मूल्यांकन प्रक्रियामा रहेको छ ।
संघीय राजधानी काठमाडौंलाई पूर्वी तराईका जिल्लासँग जोड्ने यो राजमार्गको कुल लम्बाइ १६० किलोमिटर छ । राजमार्गको पहिलो खण्ड बर्दिबासदेखि सिन्धुली, दोस्रो खण्ड सिन्धुली–फुर्कोट, तेस्रो खण्ड फुर्कोटदेखि नेपालथोक र चौथो खण्ड नेपालथोकदेखि धुलिखेल पर्छ ।