काठमाडौँ, १९ साउन : पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा रौतहटमा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार रौतहटमा उक्त अवधिमा १५८ मिलिमिटर वर्षा भएको हो । यो धेरै भारी वर्षा हो ।
त्यसपछि नवलपरासी पूर्व र नवलपरासी पश्चिममा समान १०३.६ मिलिमिटर वर्षा भएको छ । रुपन्देहीको तिलोत्तमामा १०७.८ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ । यता अर्घाखाँचीमा पनि १०४.२ मिलिमिटर वर्षा भएको विभागले जानकारी दिएको छ ।
यस्तै दाङ, चितवन, काठमाडौँ, धनुषा, सिरहा, खोटाङ, मकवानपुर, बारा, पर्सा, झापा, सिन्धुपाल्चोक, तनहुँ, पाल्पा, गुल्मी, पर्वत, कञ्चनपुर, डडेलधुरा, सिन्धुलीका केही केन्द्मा पनि पनि भारी वर्षा मापन भएको छ । पछिल्लो एक घण्टामा बैतडी, डोटी, लमजुङ, चितवनमा मध्याम वर्षा भएको छ भने अन्य धेरै ठाउँमा हल्का देखि मध्यमसम्म वर्षा भइरहेको छ ।
मौसमविद् रोजन लामिछानेले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित रहेको बताउनुभयो ।
अहिले देशभर बदली रहेको छ । कोशी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा र बाँकी भू–भागका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ ।
उहाँका अनुसार आगामी २४ घण्टामा बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
आगामी केही दिन मधेश प्रदेशलगायत देशभर मनसुन सक्रिय रहिरहने देखिएको पनि उहाँले बताउनुभएको छ ।