पर्वत : पर्वतको प्रमुख स्वास्थ्य संस्था प्रदेश अस्पताल पर्वतको प्रयोगशालामा एकैपटक १२ वटा परीक्षण गर्न सकिने भएको छ ।
अब विरामीले आधुनिक प्रविधिबाट स्वास्थ्यसम्बन्धी समस्याको प्रयोगशाला परीक्षण यहीँबाट गर्न सक्ने भएका छन् । हालसम्म उपलब्ध परीक्षणसम्बन्धी सेवा पर्याप्त नहुँदा आधुनिक र थप परीक्षणका लागि पोखरा वा अन्य ठाउ जानुपर्ने बाध्यता अब हटेको अस्पतालले जनाएको छ ।
अस्पतालमा हालै थपिएका प्रयोगशालासम्बन्धी सेवाले धेरै विरामीलाई जिल्लाकै उपचारले थप राहत प्रदान गर्ने भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्त बाँस्तोलाले बताए ।
उनका अनुसार नयाँ थपिएका परीक्षण सेवामा भिटामिन डी, भिटामिन बी–१२, पीएसए, बी–एचसीजी, एन्टी टिपिओ, आइरन प्रोफाइल, एएनए, एन्टी डीएसडीएनए, फेरिटिन, सीआरपी क्वान्टिटेटिभ, आरए क्वान्टिटेटिभ तथा रेटिकुलोसाइट काउन्ट जस्ता विश्लेषणात्मक परीक्षण समावेश गरिएका छन् ।
यी परीक्षणबाट विशिष्ट स्वास्थ्य समस्या पहिचान गर्न सहज हुने अस्पतालले जनाएको छ । यो सुविधामार्फत कुश्मा तथा आसपासका जिल्लाका सर्वसाधारणले उपत्यका वा अन्य शहर जानुपर्ने झन्झटविना अत्याधुनिक प्रयोशाला परीक्षण सेवा सुलभ रूपमा प्राप्त गर्न सक्ने भएका छन् ।