काठमाडौँ, १७ साउन : नेपाल र छिमेकी मित्रराष्ट्र जनवादी गणतन्त्र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्ष पुगेको अवसरमा आजबाट काठमाडौँमा संयुक्त कला प्रदर्शनी सुरु भएको छ ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, सिल्क रोड सिटिज अलाइन्स तथा चाइना कल्चर सेन्टर नेपालको संयुक्त आयोजनामा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नक्सालमा सुरु भएको कला प्रदर्शनीको पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइराला र नेपालका लागि चीनका राजदूत छन सोङले उद्घाटन गर्नुभयो ।
https://www.facebook.com/watch?v=758040306767121
कार्यक्रममा पूर्वमन्त्री कोइरालाले यस प्रदर्शनीले राजनीतिकबाहेक यसले दुई देशका जनताबीचको अन्तरहृदय जोड्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यस प्रदर्शनीले कला र संस्कृतिलाई जोड्ने मात्र नभई दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँछ ।”
प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको विशेष अवसरमा आयोजित कला प्रदर्शनीले सांस्कृतिक कूटनीतिमा सधैँ गहिरो भूमिका खेल्न बताउनुभयो । उहाँले कला केवल सौन्दर्य अभिव्यक्त गर्ने माध्यम मात्र नभई एकताबद्ध गर्ने एउटा पुुल भएको धारणा राख्नुभयो ।
चीनका राजदूत सोङले नेपाल–चीन सम्बन्ध आपसी सम्मान, सहयोग र साझेदारीमा आधारित रहेको बताउनुभयो । उहाँले दुई देशका कलाकारलाई एकै मञ्चमा देख्न पाउँदा आफूलाई खुसी लागेको र आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राख्नभयो ।
प्रदर्शनीमा कुलपति हार्तम्छालीसहित पूर्वकुलपतिहरु किरण मानन्धर, केके कर्माचार्य, उपकुलपति लालकाजी लामा, प्राज्ञपरिषद सदस्य प्रदीप अधिकारी, सौरगंगा दर्शनधारी, दिनेश्वर महतो, संजय वान्तवा, अरुणा हिङ्माङलगायत कलाकारका कलाकृति प्रदर्शनीमा राखिएको छ । यस्तै चिनिया कलाकारका कलाकृति समावेश छ ।
नेपाली कलाकारका ४४ र चिनिया कलाकारका ६० वटा कलाकृति प्रदर्शनीमा रहेको छ । उक्त प्रदर्शनीमा १५ जना चिनिया कलाकारहरु समेत सहभागी भएका प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले थुम्केलीले बताउनुभयो ।
सो क्रममा आज चिनिया कलाकारहरुले प्रत्यक्षरुपमा भएको कला कार्यशालामा आफ्नो प्रस्तुति समेत दिएका थिए । प्रदर्शनी साउन ३१ गतेसम्म चल्ने छ ।
