काठमाडौँ : चितवन र नवलपरासी जोड्ने पूर्वपश्चिम राजमार्गको मुख्य मार्गको नारायणीमाथिको पुल आत्महत्या गर्ने मुख्य विन्दु बन्न पुगेको छ।
आवश्यक सुरक्षाको अभाव र कसैको चासो नहुने स्थान भएकाले पनि यहाँ मानिसहरू आत्महत्याका लागि रोज्ने विन्दु बन्न पुगेको हो । हरेक महिनामा एक/दुई घटना यहाँ हुने गरेको छ। आज मात्रै पनि यहाँबाट २ जना मानिस हाम्फालेर बेपत्ता भएका छन् ।
एकजना आज बिहान र अर्का एकजना साँझतिर हामफालेर बेपत्ता भएका प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय गैँडाकोटकी प्रमुख प्रहरी निरीक्षक कमला नरालकाअनुसार आज साँझ ७:४५ बजेतिर करिब ४२ वर्षीया महिला पुलबाट हामफालेर बेपत्ता भएकी छिन्।
“साँझ पुलबाट हामफालेका कारण खोजी कार्यमा कठिनाइ भएको छ”, उनले भनिन् “बिहान हामफालेका किशोरको अवस्था पनि हालसम्म अज्ञात छ।”
बिहान पुलबाट हामफाल्ने किशोर गैँडाकोट–५ का १५ वर्षीय आदेश श्रेष्ठ रहेको र महिलाको भने पहिचान खुल्न नसकेको नरालले जानकारी दिइन्।
यहाँबाट पटक पटक मानिसहरु हाम्फालेर आत्महत्या गरिरहँदा पनि सुरक्षाको राम्रो प्रबन्ध हुन सकेको छैन ।
यहाँ चितवनतर्फ नजिकै वडा प्रहरी कार्यालय नारायणगढ र नवलपुरतर्फ इलाका प्रहरी कार्यालय गैंडाकोट छ तर पुलमा भने अझै सुरक्षा चुस्त पार्न सकिएको छैन ।