काठमाडौँ, १० साउन : राष्ट्रिय सङ्ग्रहालयले अमेरिकाबाट फिर्ता ल्याइएको तीनवटा प्राचीन सम्पदा (कलाकृति) आज पुनस्थापनका लागि इतुम्बहालस्थित भाष्करदेव संस्कारित केशचन्द्रकृत पारावत् महाविहार संरक्षण समाजलाई हस्तान्तरण गरेको छ ।
उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह, संग्रहालयकी प्रमुख अरुणा नकर्मीले महाविहार संरक्षण समाजका अध्यक्ष प्रज्ञारत्न शाक्य, उपाध्यक्ष रमेशमान शाक्य र सचिव रत्नसम्भव शाक्य तथा महाविहार रहेको काठमाडौँ महानगरपालिका वडानम्बर २४ का सदस्य रत्नाकर बज्राचार्यलाई उक्त प्राचिन कलाकृति हस्तान्तरण गर्नुभएको हो ।
https://www.facebook.com/samriddhisanchar/videos/595218253651945
हस्तान्तरण अघि संग्रहालयकी प्रमुख नकर्मी र समाजका अध्यक्ष प्रज्ञारत्न शाक्य, उपाध्यक्ष रमेशमान शाक्य, सचिव रत्नसम्भव शाक्य र काठमाडौँ महानगरपालिका वडानम्बर २४ का सदस्य रत्नाकर बज्राचार्यले हस्तान्तरणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।
यसरी फिर्ता गरिएका कलाकृति (थाङ्का)मा ३०० वर्ष पुरानो चिन्तामणि लोकेश्वर, ५७५ वर्ष पुरानो गगनसिंह भारोया र उहाँकी पत्नीसहितको थाङ्का (पौभा) र ३२१ वर्ष पुरानो केशचन्द्रसहितको भैरव रहेका छन् । यो कलाकृति २०३७ साल भदौँ २९ गते चोरी भएको थियो । चोरिएको कलाकृति अमेरिका पुर्याइएको थियो । उक्त कलाकृति ४५ वर्षपछि गत फागुन १९ गते नेपाल ल्याएर राष्ट्रिय सङ्ग्रहालयमा राखिएको थियो ।
आज सोही कलाकृति उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहको उपस्थितिमा सम्बन्धित महाविहार संरक्षण समाजलाई हस्तान्तरण गरिएको हो । २०३७ सालअघिसम्म गुँलापर्वका बेला १५ दिनसम्म यस महाविहारमा उक्त कलाकृति प्रदर्शन गरिन्थ्यो ।
अमेरिकाको नेवाः गुठीका अध्यक्ष विजयमान सिंह तथा पुरातत्व विभागसँगको समन्वयमा उक्त पौभा चित्र फिर्ता ल्याइएको हो । कलाप्रेमी स्टेफन एककार्डले सिकागोस्थित आर्ट इन्स्टिच्युट अफ सिकागोमा यी पौभाः प्रदर्शनीमा राखेको देखेपछि उहाँकै यहाँ जानकारी दिनुभएको थियो । सोही आधारमा ती पौभाः चोरी भएर सिकागो पुगेको सन् २००३ मा पुष्टि भएको थियो । त्यसपछि दुई दशकको लामो प्रयासबाट नेपाल फिर्ता ल्याउन सकिएको हो ।
आज भएको उक्त कलाकृति हस्तान्तरण समारोहमा उपप्रधानमन्त्री सिंहले यस्ता नेपालको प्राचीन कलाकृति फिर्ता ल्याउन प्रयास गर्ने सबैलाई धन्यवाद दिनुभयो । उहाँले ती कलाकृति परम्पराअनुसार बेलाबेलामा प्रदर्शनमा राख्ने र संरक्षणमा समाजले ध्यान दिने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यले तीनै तहका सरकार सम्पदा संरक्षणमा लाग्नुपर्नेमा जोड दिँदै यस्ता सम्पदाले भावी पुस्तालाई इतिहास बुझाउन सहयोग गर्ने हुँदा बाँकी सम्पदा पनि फिर्ता ल्याउन पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले अभियन्ता विजय सिंहको टोलीको सहयोगमा सम्पदा फर्काउन सफल भएकोमा खुसी व्यक्त गर्दै अब त्यसको संरक्षणमा महानगरबाट आवश्यक सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा इतुम्बहालस्थित भाष्करदेव संस्कारित केशचन्द्रकृत पारावत् महाविहार संरक्षण समाजका अध्यक्ष प्रज्ञारत्न शाक्यले यहाँ आफ्नै सङ्ग्रहालय स्थापना गरिएको र प्राकृतिक कलाकृति सुरक्षित राख्ने व्यवस्था मिलाएपछि लिन आएको बताउनुभयो । उहाँले दर्जनौँ पटकको प्रयासमा कलाकृति फिर्ता ल्याउन सफल भएको र आज पुरानै ठाउँमा पुनस्थापन गर्न पाउँदा गर्वको महसुस भएको बताउनुभयो ।
राष्ट्रिय सङ्ग्रहालयकी प्रमुख अरुणा नकर्मीले फिर्ता आएको कलालाई पुनस्थापनका लागि हस्तान्तरण गर्न पाउनु सुखद कुरा भएको बताउनुभयो । उहाँले प्राचीन सम्पदाको उचित संरक्षण हुने विश्वास रहेको समेत बताउनुभयो ।