काठमाडौँ, ९ साउन : चर्काे गर्मी महसुस गरिरहेको काठमाडौँ उपत्यकालगायत केही जिल्ल्लामा आज साँझ परेको वर्षाले शीतल हुँदा केही राहत महसुस भएको छ । काठमाडौँ उपत्यकामा आज मध्यम वर्षा भएको छ ।
पछिल्लो ६ घण्टामा देशका केही ठाउँमा भारी वर्षा समेत भएको छ । तराईलगायत क्षेत्र सुख्खा हुँदा यसपालि खण्डिकृत वर्षा भइरहेको छ । रसुवालगायत क्षेत्रमा ठूलो क्षति हुने गरी बाढी आउँदा तराईलगायतका विभिन्न जिल्ला सुख्खा बनिरहेका बेला आज पनि केही क्षेत्रमा भने भारी वर्षा भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज पछिल्लो ६ घण्टामा मात्रै एक ठाउँमा अति भारी र चार ठाउँमा भारी वर्षा भएको छ । सबैभन्दा बढी पानी सिन्धुपाल्चोकमा भएको छ । त्यहाँको गोब्रे वर्षा मापन केन्द्रमा ११७ मिलिमिटर वर्षा भएको हो । यो अति भारी वर्षा हो ।
यस्तै सिन्धुपाल्चोककै तारके घ्याङमा ५३.४ मिडिमिटर पानी परेको छ । यस्तै मकवानपुरको मार्खुमा ५२.२ मिडिमिटर, मकवानपुरकै सिलिङेमा ६५.४ मिलिमिटर, डोटीको झिङरानमा ५८.४ मिडिमिटर पानी परेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार ५० देखि १०० मिलिमिटर वर्षालाई भारी वर्षाका रुपमा चिनिन्छ । विभागका सूचना अधिकारी दिनाकर कायस्थले मनसुन कमजोर रहेको र राम्ररी सक्रिय हुन नसकिरहेको बताउनुभयो ।
विभागका अनुसार हाल देशभर मनसुनी बायुको प्रभाव कमजोर रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास नै रहेको छ । आउँदो चौविस घण्टामा पनि क्षणिक वर्षा हुने भएकाले गर्मी यथावत नै रहने जनाइएको छ ।