काठमाडौँ, ७ साउन : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रले महिला, दलित आदिवासी, जनजाति तथा पछाडि पारिएको वर्गको हक अधिकार स्थापित गर्न र उनीहरुलाई मुलधारमा ल्याउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ ।
माक्सवादी ज्ञान केन्द्रद्वारा आज काठमाडौँमा आयोजित ‘गणतन्त्र अगाडि र पछाडिको नेपाल : एक तुलनात्मक अध्ययन’ नामक पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “जुन सुकै दलका भए पनि महिलाहरु पदमा आउँदा मलाई गर्व लाग्छ, विद्रोहको औचित्य प्रमाणित भएको छ ।”
लामो त्याग, संघर्ष तथा शहिदहरुको बलिदानका कारण मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरिएको र त्यसले पछाडि परेका वर्गलाई अगाडि आउन महत्वपूर्ण योगदान गरेको उहाँले स्मरण गर्नुभयो । यो कुरा कतिपय नेताहरुलाई स्वीकार गर्न गाह्रो हुने उल्लेख गर्दै उहाँहरुले स्वाकारे पनि या नस्वीकारे पनि महिला, दलित, आदिवासी, जनजातिले पाएको अधिकार इतिहासले प्रमाणित गरिसकेको जिकिर पनि गर्नुभयो ।
उहाँले जाति भाषा, धर्म, संस्कृति र इतिहासप्रति सम्मान गर्न सकिएन भने देश सफल हुन नसक्ने पनि बताउनुभयो । गणतन्त्र स्थापनामा आफ्नो त्याग ठूलो रहेको र गणतन्त्रमाथि केही भयो भने सबैभन्दा बढी चिन्ता आफूलाई नै हुने दावी गर्दै अध्यक्ष दाहालले अहिले युगान्तकारी परिवर्तन गर्ने नेतालाई तल्लोस्तरबाट गाली गर्ने प्रवृत्ति रहेको र यस्ता व्यक्तिहरुले जनतालाई भ्रममा पारिरहेको बताउनुभयो ।
गणतन्त्रका उपलब्धिहरुलाई जनतामाझ लैजानुपर्ने र जनतालाई सत्य र यथार्थ बुझाउनुपर्नेमा जोड दिँदै उहाँले यस्ता पुस्तक सहयोग हुने बताउनुभयो । देश छाड्नुपर्छ, देशमा केही भएको छैन, सबै खत्तमै भयो भन्ने भ्रम छर्ने प्रवृत्तिविरुद्ध प्रतिवाद गर्ने राम्रो खालको हतियार यो पुस्तक हुने पनि उहाँले बताउनुभयो ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले गणतन्त्र अघिभन्दा गणतन्त्र आएपछि देशका धेरै क्षेत्रमा उल्ेैख्य प्रगति भएको बताउनुभयो । उहाँले विकसित मुलुकको तुलनामा पनि नेपालमा छिटो प्रगति भएको दावी गर्दै सबै एकैचोटी विकास नहुने पनि बताउनुभयो । उहाँले गणतन्त्र आएपछि अन्य क्षेत्रमा प्रगति भएको तर शिक्षाको कोर्स बुक बदल्ने पाठ्यक्रम बनाउने कुरामा भने कसैको पनि ध्यान नपुगेको जिकिर गर्नुभयो ।
उहाँले नीति निर्माण तहमा तथा हरके निकायमा महिला, दलित आदिवासी जनजाति सहभागीता उल्लेख्य बढेको पनि स्मरण गर्नुभयो । उहाँले स्थानीय सरकारको के गरिरहेको छ भन्ने विषमया भने निगरानी जरुरी भएको बताउनुभयो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश स्नेहीले गणतन्त्रलाई असफल पार्ने प्रयास भइरहेको र त्यसलाई सफल हुन दिन नहुनेमा जोड दिनुभयो । अहिले राजनीतिक नेतृत्वमा सबै आफैँमात्रै हुनुपर्ने प्रवृत्ति हावी हुँदा जनतामा निरासा छाएको उल्लेख गर्दै उहाँले पार्टी भित्र लोकतन्त्र लागू गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “तीन दलका शीर्ष नेतामा मात्रै गणतन्त्र आयो कि जस्तो देखिएको छ, अब नागरिकमा पनि गणतन्त्र आउनुपर्छ, नेपालका पार्टीहरुको आन्तरिक लोकतन्त्र कमजोर छ, नेतृत्व हस्तान्तरण नगरी लोकतन्त्र आउँदैन । सबै दलले सुशासनको साझा मुद्दा बनाउन सके गणतन्त्रको विश्वसनीयता बढ्छ ।”
कार्यक्रममा नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषदका सचिवालय सदस्य डा. जितेन्द्रदेव गिरीले गणतन्त्रवादी शक्तिहरु एक ठाएँमा आएर गणतन्त्रको रक्षार्थ काम गर्नुपर्नेमा जोड दिनुभयो । यसो गर्दा प्रतिगामीहरुले टाउको उठाउन नसक्ने उहाँले बताउनुभयो ।
माक्सवादी ज्ञान केन्द्रका वरिष्ठ उपाध्यक्ष इन्द्रराज भट्टराईले गणतन्त्रमा केही भएन विग्रियो भन्नेहरुका लागि गणत्रन्त्र अघिको अवस्था के थियो र गणतन्त्रपछि के भयो भनी विभिन्न विज्ञहरुबाट विष्लेषण तथा अध्ययनसहित तथ्यंकीयरुपमा पुस्तक तयार पारिएको जानकारी दिनुभयो ।