काठमाडौँ, ६ साउन : नेपालमा गएको एक महिनाको दुर्घटना विष्लेषण गर्दा सबैभन्दा बढी मोटरसाइकल दुर्घटनामा संलग्न रहेको पाइएको छ ।
नेपाल प्रहरीका अनुसार गएको असार महिनामा भएका दुर्घटनाको अध्ययन गर्दा ५६.५७ प्रतिशत मोटरसाइकल दुर्घटनामा परेको पाइएको हो । सबैभन्दा धेरै दुर्घटना भने तीव्र गतिकै कारण भएको पाइएको पनि प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले दुर्घटनामा संलग्न कुल ४ हजार ४२८ गाडीमध्ये २ हजार ५०५ वटा मोटरसाइकल रहेको बताउनुभयो ।
त्यसपछि जीप कार दुर्घटना १७. २३ प्रतिशत रहेको छ । ट्रक, ट्यांकर ६.४६ प्रतिशत र बस ४.४३ प्रतिशत दुर्घटनामा परेको जनाइएको छ । कुल २ हजार ९२२ वटा दुर्घटनामा ती सवारी साधन संलग्न रहेको पाइएको पनि प्रहरीले जनाएको छ ।
ती दुर्घटनामा परेर एक महिनामै २३९ जनाको मृत्यु भएको छ । जसमा १८६ जना पुरुष, ३६ जना महिला र १७ जना बालबालिका रहेका छन् । ती दुर्घटनामा ६२५ जना घाइते भएका पनि प्रवक्ता घिमिरेले जानकारी दिनुभयो ।
दुर्घटनाको कारण
दुर्घटनाको मुख्य कारण भने तीव्र गतिले भएको पाइएको छ । कुल दुर्घटनामा आधा भन्दा बढी तीव्रगतिका कारण भएको पाइएको प्रहरीले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
त्यसपछि मापसे गरेर सवारी चलाउँदा दुर्घटना भएको पाइएको छ । बाटो काट्दा, ओभटेक गर्दा, लेन मिच्दा पनि दुर्घटना भएको पाइएको प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरीले विभिन्न ट्राफिक नियम उल्लंघनबाट १२ करोड बढी राजस्व संकलन गरेको पनि जानकारी दिएको छ ।