काठमाडौँ, ३ साउन : गएको हप्ता तापक्रम बढेर चर्को घामले आलसतालस पारेको नेपालमा फेरि नयाँ मनसुनी प्रणाली (पानी पार्ने प्रणाली) विकास भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार यो प्रणाली देशभर एकनासको नभएर सीमित–सीमित क्षेत्रमा वर्षा गराउने खालको रहेको छ ।
विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले यो ठूलो देशैभरी फैलिने खालको प्रणाली नभएकाले पहाडी क्षेत्रमा मात्रै देखिने खालको रहेको बताउनुभयो । तर बदली भने हुने उहाँले बताउनुभयो ।
उहाँले तराइमा अझै पनि राम्ररी ठूलो वर्षा हुने खालको नदेखिएको पनि बताउनुभयो । अहिले वर्षाको अभावमा तराइका जिल्ला प्रभावित छ । ट्यांकर र दमकलबाट पानी वितरण भइरहेको छ ।
उहाँका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिम र मध्य नेपालमा सरदर स्थानभन्दा उत्तरतिर तथा पूर्वमा सरदर स्थानको आसपासमा रहेको छ ।
हाल कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागहरूमा आंशिक बदली रहेको छ ।
आगामी २४ घण्टामा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागका धेरै स्थानहरूमा तथा बाँकी भू–भागका केही स्थानहरूमा मेघगर्जन÷चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । मानन्धरले राती र भोलि कोशी र गण्डकीको केही ठाउँमा भारी वर्षा हुने सम्भावना रहेको बताउनुभयो । तर तराई क्षेत्रमा भन्दा पहाडी क्षेत्रमा मात्रै वर्षा हुने छ ।
देशको उच्च–पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा÷ हिमपातको सम्भावना रहेको छ । सम्भावित वर्षाको कारणले भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको विभागले जनाएको छ ।
शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले सावधानी अपनाउन अनुरोध गरिएको छ ।
आगामी तीनदिनसम्म मौसम बदली हुने र त्यसपछि हट्दै जाने पनि मौसमविद् मानन्धरले बताइन्।
