काठमाडौँ, ३ साउन : चितवनको कालिका नगरपालिकाले सुरु गरेको जिपिएस प्रणालीमार्फत घर नम्बर राख्ने कार्य (स्मार्ट ठेगाना प्रणाली) बारे अमेरिकामा चर्चा गरिएको छ ।
हालै अमेरिका भ्रमणमा रहनुभएका कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीसँग गैरआवासीय नेपाली, त्यहाँस्थित नेपाली राजदूत तथा सहभागी राजनीतिज्ञरुले अमेरिकाको विकसित शहर वासिङ्टन डिसीमा प्रयोग गरिएको यो प्रणाली अवलम्बन गरेकोमा प्रशंसा गर्नु भएको हो ।
भिडिओ
शुक्रबार अमेरिकाको भर्जिनियामा सम्पन्न भएको ‘मिट एण्ड ग्रिट’ कार्यक्रममा समेत सहभागीहरुले मेयर रेग्मीको स्मार्ट पालिका बनाउने अभियानको प्रशंसा गर्नुभएको थियो । प्रमुख रेग्मी फ्लोरिडा राज्यको अर्लान्डो सहरमा आयोजित १०७औँ लायन्स इन्टरनेशनल कन्भेन्सनमा सहभागी हुन अमेरिका जानुभएको हो ।
सो कार्यक्रममा कार्यक्रममा जिपिएस प्रणालीबाट घर नम्बर राख्ने (स्मार्ट ठेगाना प्रणाली) बारे प्रस्तुतिकरण भएको थियो ।
यहाँ अमेरिकाको वाशिङ्टन डिसीमा जस्तै सडक नामकरण र घर नम्बर प्रणाली चितवनको कालिका नगरपालिकाको पदमपुर क्षेत्रबाट सुरु गरिएको कार्यक्रममा रेग्मीले जानकारी दिनुभयो ।
भिडिओ
https://www.facebook.com/samriddhisanchar/videos/745973098373428
उहाँ जीपीएस प्रणालीमार्फत नगरको नक्साङ्कन, सडक रेखाङ्कन र नामकरण, मुख्य चोकहरूमा दिशा–निर्देश बोर्ड जडान, घरहरूमा नामाङ्कन (नम्बरिङ)लगायतका कार्यहरू थालिएको पनि बताउनुभयो ।
उक्त योजनाबारे बताउँदै अमेरिका निवासी आईटी तथा साइबर सेक्युरिटी विज्ञ डा. रामहरी सुवेदीले कालिकाले थालेको स्मार्ट प्रणालीलाई सबैले अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्राध्यापक डा. विष्णु घिमिरेले २१औँ शताब्दीको स्थानीय तहको विकास प्रविधिमैत्री हुनुपर्नेमा जोड दिँदै कालिकाको अभियानको प्रशंसा गर्नुभयो ।
कार्यक्रममा कालिका नगरपालिकाका प्रमुख रेग्मीले हाल सुरु गरिएको स्मार्ट ठेगाना प्रणाली केवल एक योजना नभएर भविष्यको परिकल्पना भएको बताउनुभयो । अभियानलाई ‘स्मार्ट प्रशासन, सुशासन र पारदर्शिता’ मा रूपान्तरण गर्ने दीर्घकालीन दृष्टिकोण रहेको पनि रेग्मीले बताउनुभयो ।
स्थानीय सरकारको भूमिका अब सीमित पूर्वाधार निर्माणमा मात्र सीमित नरही, प्रविधि, नवप्रवर्तन र डिजिटल पहुँचलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।
प्रमुख रेगमीले आफूले जानेको सीप र ज्ञानलाई स्वदेशमा लगानी गर्न गैरआवासीय नेपालीहरुलाई अनुरोध गर्दै घर, परिवार, समाज र टोलबाटै परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा एनआरएनए प्रतिनिधिहरु विशाल कार्की, कृष्ण सादगी भण्डारीलगायतले कालिका नगरपालिकाले गरेका सुधारका प्रयासको प्रशंसा गर्नुभएको थियो ।
यसअघि मेयर रेग्मीले अमेरिकाको राजधानी वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासमा गरेको भेटमा नेपालका लागि अमेरिकी राजदूत एवं पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीले कालिका नगरपालिकाले सुरु गरेको स्मार्ट ठेगाना प्रणालीको प्रशांसा गर्नुभयो ।
उक्त भेटमा समसामयिक राजनीतिक अवस्था, नेपाल–अमेरिका सम्बन्ध, स्थानीय तहको विकास र आपसी सहकार्यका सम्भावित क्षेत्रहरूबारेमा समेत छलफल भएको मेयर रेग्मीले जानकारी दिनुभयो ।
सोही क्रममा उहाँले पूर्वउपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि अमेरिकामै भेटघाट गर्नुभएको छ । भेटका क्रममा श्रेष्ठले अब पालिकाले स्थानीयको जीवनस्तर उकास्न लाग्नुपर्ने र कालिकाले जस्तै डिजिटलाइजेसनमा अग्रसर हुनुपर्नेमा जोड दिनुभएको थियो ।