काठमाडौँ, १ साउन : गएको वैशाखदेखि असारसम्मको तीन महिनामा २ हजार ६५ वटा विपद्जन्य घटना भएको छ ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो वर्षको तीन महिनामा ती विपद्जन्य घटनामा परेर ९३ जनाको मृत्यु भएको छ भने २२ जना बेपत्ता भएका छन् ।
प्राधिकरणका प्रवक्ता, उपसचिव सुरेश सुनारका अनुसार ती घटनाहरुमा परेर आजसम्म ४४५ जना घाइते भएका छन् । उहाँले ती घटनामा परेर ४ हजार १३६ परिवार प्रभावित भएको जानकारी दिनुभयो ।
प्राधिकरणले आज सार्वजनिक गरेको विसं २०८२ को पछिल्लो ३ महिनाको विवरण अनुसार
बढीका मात्रै १३७ घटना भएको र ती घटनाबाट १३ जनाको मृत्यु र २२ जना बेपत्ता भएका छन् ।
केही अघि असार २४ गते रसुवा भोटेकोशीमा आएको बाढीले सबैभन्दा बढी मानवीय क्षति गराएको थियो । माथिल्लो क्षेत्रमा भएको हिमताल विष्फोटबाट उक्त घटना भएको थियो ।
यस्तै पहिरोका १७५ घटनामा ६ जनाको मृत्यु भएको छ । चट्याङ्बाट २६ जना, आगलागीबाट १४ जना, जनावरको आक्रमणबाट १२ जना र लेक लागेर ११ जनाको मृत्यु भएको छ ।
अन्य हावाहुरी, सर्पदंश, भारी वर्षाबाट पनि मानवीय क्षति भएको प्राधिकरणले जनाएको छ ।
बाढीबाटमात्रै एक हजार २४६ तथा आगलागीबाट एक हजार ४८ परिवार प्रभावित भएका छन् ।
पहिरो, चट्याङ्, भारी वर्षा, सर्पदंश, हावाहुरी, वन डढेलो, सर्पदंशलगायतका घटनाबाट समेत सयौँ परिवार प्रभावित भएका जनाइएको छ ।
