चितवन : चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मी अहिले अमेरिका भ्रमणमा हुनुहुन्छ ।
फ्लोरिडा राज्यको अर्लान्डो सहरमा आयोजित १०७औँ लायन्स इन्टरनेशनल कन्भेन्सनमा सहभागी हुन अमेरिका पुग्नुभएका उहाँ विशिष्ट व्यक्तिहरुसँग भेटघाटमा व्यस्त हुनुहुन्छ । विश्वभरिका लायन्स क्लबका प्रतिनिधिहरूको उपस्थिति रहने उक्त सम्मेलनमा उहाँले पनि सहभागी हुनुहुन्छ ।
यात्राको सिलसिलामा मेयर रेग्मीले अमेरिकाको राजधानी वासिङ्टन डिसीस्थित नेपाली राज दूतावासमा नेपालका लागि अमेरिकी राजदूत एवं पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीसँग शिष्टाचार भेट गर्नुभएको छ ।
उक्त भेटमा समसामयिक राजनीतिक अवस्था, नेपाल–अमेरिका सम्बन्ध, स्थानीय तहको विकास र आपसी सहकार्यका सम्भावित क्षेत्रहरूबारे छलफल भएको मेयर रेग्मीले जानकारी दिनुभयो ।
सोही क्रममा उहाँले पूर्वउपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि अमेरिकामै भेटघाट गर्नुभएको छ । भेटका क्रममा नेपालको वर्तमान राजनीतिक अवस्था, विदेशमा रहेका नेपालीहरूको भूमिका र स्थानीय तहका समृद्धि अभियानबारे कुराकानी भएको थियो ।
सो क्रममा राजदूत रेग्मी र नेता श्रेष्ठले कालिका नगरपालिकाले जिपिएस प्रणालीमा आधारित रहेर घर नम्बर राख्ने कार्यको थालनी गरेकोमा प्रशंसा गर्नुभएको छ । अमेरिकामा लागू भएको यो प्रणाली नेपालको स्थानीय तहमा सम्भवतः पहिलो हो ।
मेयर रेग्मीको यो भ्रमणले अन्तरराष्ट्रियस्तरमा नेपाल र कालिका नगरको पहिचान प्रवर्द्धन गर्नुका साथै अन्तरसंस्थागत सम्बन्ध विस्तारमा टेवा पुग्ने अपेक्षा गरिएको छ।