काठमाडौँ, ३१ असार : नेपाल प्रज्ञा प्रतिष्ठानले गत वर्षदेखि स्थापना गरेको ‘प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार’बाट दुई जना अग्रज साहित्यिक पत्रकारलाई पुरस्कृत गरेको छ ।
आज प्रतिष्ठानमा आयोजित एक समारोहका बीच प्रतिष्ठानका कुलपति भूपाल राईले उहाँहरुलाई जनही रु ५० हजार नगदसहति कदरपत्रले सम्मान गर्नुभएको हो ।
नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कारबाट अग्रज साहित्यिक पत्रकार मोहन दुवाल र मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कारबाट अग्रज साहित्यिक पत्रकार विरबहादुर चन्दलाई पुरस्कृत गरिएको हो ।
दुवाल ५ दशकदेखि ‘जनमत’ साहित्यक पत्रिका प्रकाशन÷सम्पादन गर्दै आउनुभएको छ । यो हालसम्म ३३४ अंक निस्किसकेको छ । उहाँ काभ्रेबाट साहित्यिक पत्रकारिता गर्दै आउनुभएको छ ।
यस्तै डोटेली भाषाको पत्रिका ‘गुगुल्डि’ प्रकाशन गर्दै आउनुभएका सुदुरपश्चिम प्रदेशका अग्रज साहित्यिक पत्रकार विरबहादुर चन्दलाई मातृभाषातर्फ साहित्यिक पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।
उहाँले २०५४ सालदेखि गुगुल्डि मासिक पत्रिका प्रकाशन गर्दै आउनुभएको छ । उक्त पत्रिका पनि ३३४ अंक नै प्रकाशित भइसहेको छ । आज उक्त समारोहमा साहित्यकार अमर न्यौपानेले पुरस्कृति व्यक्तिका बारेमा प्रकाश पार्नुभएको थियो ।
नेपाल प्रज्ञा प्रतिष्ठानले गत वर्षबाट उक्त पुरस्कार प्रदान गर्न थालेको हो । गत वर्ष उक्त पुरस्कारबाट ‘रचना’ साहित्यिक पत्रिका प्रकाशन गर्दै आउनुभएका साहित्यिक पत्रकार रोचक घिमिरे र मातृ भाषातर्फ रुकमिणी श्रेष्ठलाई सम्मान गरिएको थियो ।
उक्त समारोहमा सम्मानित व्यक्ति दुवालले आज सरकारी तहबाट प्रतिष्ठानले ‘जनमत’ पत्रिकालाई सम्मान गरेकोमा धन्यवाद दिनुभयो ।
उहाँले विसं २०२० सालमै हस्तलिखित पत्रिका सुरू गर्नुभएको थियो । विसं २०२७ सालबाट पत्रिकामा साहित्यिक पत्रकारिता सुरू गर्नुभएका उहाँले २०३९ सालमा दर्ता गरी ‘जनमत’ पाक्षिक पत्रिका निकालेको जानकारी दिनुभयो ।
उक्त पत्रिकाको ६ अंक नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ सम्पादक हुनुभएको जानकारी दिँदै उहाँले राजनीतिक विष्लेषक श्याम श्रेष्ठ र माओवादीका नेता लिलामणि पोखरेल पनि केही समय पत्रिकामा जोडिनुभएको जानकारी दिनुभयो ।
अर्का सम्मानित व्यक्ति चन्दले सुदुरपश्चिमलाई सम्झेकोमा धन्यवाद दिँदै प्रजातान्त्रको धेय नै सबैलाई समानरूपले हेर्ने रहेको बताउनुभयो ।
उहाँले लोप भएको डोटेली शब्द ‘गुगुल्डि’लाई जोगाउनका लागि त्यही नामबाट पत्रिका चलाइरहेको जानककारी दिँदै यसको नेपाली अर्थ ‘अधुरोपना’ रहेको पनि बताउनुभयो । उहाँले डोटेली भाषा नेपाली भाषाको आमा भन्ने गरिएकाले नै डोटेली भाषाबाट पत्रिका निकाल्न थालेको पनि जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले साहित्यिक पत्रकारहरुका लागि पनि केही गर्नुपर्छ भनेर प्रतिष्ठानले निर्णय गरेर गतवर्षबाट पुरस्कार दिन थालेको बताउनुभयो । उहाँले साहित्यिक पत्रकारिता बलियो भए मात्रै राम्रा साहित्यकारहरु आउने पनि बताउनुभयो ।