काठमाडौँ, २७ असार : त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले आफ्ना कर्मचारीहरुका लागि आजदेखि नैतिक संहिता लागु गरेको छ ।
अध्यागमन सेवालाई प्रभावकारी बनाउने उद्देश्यले नैतिक संहिता बनाई आजदेखि लागू गरिएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी दिनुभयो ।
उहाँका अनुसार अध्यागमन प्रशासनसँग सम्बन्धित अन्तरराष्ट्रिय मूल्य, मान्यता तथा सिद्धान्त अनुरूप यस कार्यालयमा कार्यरत कर्मचारीहरूलाई विद्यमान राष्ट्रिय कानुन, सामाजिक÷सांस्कृतिक मूल्यप्रति जिम्मेवार र संवेदनशील बनाई कर्मचारीको असल व्यक्तिगत, पदीय एवं पेशागत आचरण र व्यवहारका माध्यमबाट आमनागरिकले अनुभूति गर्ने गरी सेवा प्रवाहलाई थप छिटोछरितो, निष्पक्ष, पारदर्शी, वस्तुनिष्ठ, अनुमानयोग्य र नतिजामूलक बनाउन आचारसंहिता लागू गरिएको हो ।
विभागका अनुसार प्रस्थान गर्ने यात्रुलाई कम्तिमा ‘ह्याब अ नाइस जर्नी’ भन्ने, नेपाल भित्र प्रवेश गर्नेलाई कम्तिमा ‘वेलकम इन नेपाल’ भन्ने, थोरै र आवश्यक प्रश्न मात्रै गर्ने आचारसंहितामा उल्लेख छ ।
यस्तै आचारसंहितामा खाडी मुलुकहरू लगायतमा श्रम/काम गर्न प्रस्थान गर्दा सम्मानयुक्त शब्दहरू प्रयोग गर्ने, रूखो व्यवहार नगर्ने, बोली वचनमा मिठासपना दिने, देशको मुहार झल्कने ठाउँ भएकाले पर्यटकहरूसँग बोलीवचन र हाउभाउले आत्मियता प्रदान गर्नेलगायतका विषयहरू उल्लेख छ ।
उक्त नैतिक संहिता अनुरूपको व्यवहार देखिएको/नदेखिएको यात्रुहरूले तत्कालै व्यक्त गर्न हाल कार्यालयको १५ वटा डेस्कमा आफूले प्राप्त गरेको सेवाको सन्तुष्टि व्यक्त गर्ने गरी सर्वाेक्षणको पनि व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।
त्यसमा स्वेच्छिकरुपमा आफूले प्राप्त गरेको सेवा तथा व्यवहारका विषयमा राय व्यक्त गर्न सकिने गरी आवश्यक व्यवस्था मिलाइएको विभागले आजै सूचना जारी गरी जानकारी गराएको छ ।