काठमाडौँ, २२ असार : पुर्वाञ्चल विश्वविद्यालयसँग सम्बद्ध कान्तिपुर सिटी कलेज (केसीसी)ले बीबीए संकायका विद्यार्थीहरूले तयार पारेको म्यानेजमेन्ट स्कोलर्स म्यागेजिन को १०औं संस्करण शनिवार केसीसी कलेज हलमा औपचारिक रूपमा विमोचन गरेको छ ।
विमोचन कार्यक्रममा उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष भवानी राणा, प्राध्यापक रामाकृष्ण रेग्मी, प्रा.डा. महेन्द्र सिंह, म्यानेजमेन्ट एसोसिएसन अफ नेपालका महासचिव इन्द्रकुमार श्रेष्ठ, केसीसीका प्रबन्ध निर्देशक डा. प्रल्हाद कार्की र प्रिन्सिपल राजु कट्टेलद्वारा संयुक्त रूपमा म्यागेजिन विमोचन गरिएको थियो।
महासंघकी पूर्वअध्यक्ष भवानी राणाले विद्यार्थीहरूले तयार पारेको म्यागेजिनले भोलिको दिनमा नेतृत्व विकाशमा सहयोग पुग्ने बताउनुभयो । त्यसैगरी प्रो.डा. महेन्द्र सिंहले म्यागेजिनले विद्यार्थीलाई रचनात्मक बनाएको र यसको विषयवस्तुले ज्ञानको दायरा फराकिले बनाउने बताउनुभयो ।

म्यानेजमेन्ट एसोसिएसन अफ नेपालका महासचिव इन्द्रकुमार श्रेष्ठ तथा केसीसीका प्रबन्ध निर्देशक डा. प्रल्हाद कार्कीले म्यागेजिन निरन्तरताको शुभकामना दिँदै म्यागेजिनले विद्यार्थीहरुमाझ नयाँ सीपको विकाश भएको बताउनुभयो ।
कार्यक्रममा वक्ताहरूले विद्यार्थीहरूले कक्षा भित्र सिकेका कुराहरू व्यवहारमा कसरी लागू गर्ने भन्ने कुरामा म्यागेजिनले सहयोग पुर्याएको बताउनुभएको थियो।
प्रा. रेग्मीले म्यागेजिनले विद्यार्थीहरूको करियर निर्माणमा सहयोग गर्ने, तर कृत्रिम बुद्धिमत्ता (एआई) मा पूर्ण रूपमा निर्भर नहुन सुझाउनुभएको थियो । उहाँले भन्नुभयो, ‘एआईले मानवीय सीपहरू कमजोर पार्न सक्छ, त्यसैले बुद्धिमानीपूर्वक प्रयोग गर्नुपर्ने छ।’

प्रकाशित म्यागेजिनको विषयवस्तुले “पर्यटन र एआई”लाई विषेश जोड दिएको छ। शिक्षा क्षेत्रमा एआईको प्रयोग, व्यापार र रोजगारीका सीपहरू समेत समावेश गरिएको छ ।
अतिथिहरूले विद्यार्थीहरूको प्रयासको प्रशंसा गर्दै यसलाई निरन्तरता दिनुपर्ने बताउनुभएको थियो। केसीसीका प्रिन्सिपल कट्टेलले विद्यार्थीहरूको सफ्ट स्किल्स विकासमा कलेजले सहयोग गरिरहेको र म्यागेजिन प्रकाशनलाई निरन्तरता दिई राख्न अनुरोध गर्नुभएको केसीसीका उप प्रमुख, मासकम्युनिकेशन र पत्रकारिता विभागका उपप्रमुख राजीव तिमिल्सिनाले जानकारी दिनुभयो।
सन् २००५ देखि केसीसीले बीबीए कार्यक्रम संचालन गर्दै आएको छ र यो बीबीए अध्ययनमा एक अग्रणी संस्था मानिन्छ । विमोचन कार्यक्रममा विद्यार्थी, शिक्षक, प्राध्यापक र पत्रकारहरूको समेत उपस्थिति थियो।