काठमाडौँ २१ असार : काठमाडौँको बागबजारमा रहेको शहीद शुक्र माध्यमिक विद्यालयको कला विभागले आज यहाँ कला कार्यशाला, कला प्रदर्शनीसहित कला शिक्षकहरुलाई सम्मान गरेको छ ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कला कार्यशाला तथा कला प्रदर्शनीको अवलोकन पश्चात आयोजित सम्मान कार्यक्रममा कलाको जरो विद्यालयको कला शिक्षा रहेको बताउँदै यस्ता कार्यले कला शिक्षकहरुमा हौसला प्रदान हुने बताउनुभयो ।
कला शिक्षकहरुलाई सम्मान गर्दै कुलपति हार्तम्छालीले समाज र शिक्षाको मेरुडण्ड कला रहेको बताउँदै आउँदा दिनमा कला शिक्षकका लागि प्रज्ञा प्रतिष्ठानले पनि पहल गर्ने प्रतिक्रिया दिनुभयो । कार्यशाला समेत आयोजना गरिँदा यसले कलाका विद्यार्थी र शिक्षकबीच प्रायोगिक रुपमा पुस्तान्तरण हुने पनि बताउनुभयो ।
https://www.facebook.com/samriddhisanchar/videos/3664627087170665
प्रतिष्ठानकी प्राज्ञपरिषद सदस्य शौरगंगा दर्शनधारीले कला शिक्षकका लागि पहिलो पटक यसरी सम्मान गर्नु महत्वपूर्ण भएको बताउँदै भन्नुभयो, “कलाकार जन्माउने शिक्षकको सम्मान कला प्रतिको सम्मान हो ।”
सम्मान कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिवश ढुंगेलले आफू व्यवस्थापन समितिको जिम्मेवारी सम्हाले देखिनै विद्यालयको भौतिक र शैक्षिक वातावरण सुधारमा लागेको बताउनु भयो ।
उहाँले कला कार्यशालाले कला शिक्षकहरुलाई विद्यार्थी र आमजनतासँग जोड्ने सेतुको काम गरेको जानकारी दिनुभयो । यस प्रकारको कार्यशाला र सम्मानको कार्यले विद्यालयलाई कला शिक्षण पेशामा लाग्नेहरुलाई अझ नजिकिन र सम्मानित पेशाातर्फ झुकाव राख्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्राध्यापक राधेश्याम मुल्मीले कलालाई जनजनमा पु¥याउन कला शिक्षकको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो ।
नेपाल व्यवसायिक कलाकार संधका अध्यक्ष प्रेमलाल श्रेष्ठले विद्यालयमा कला शिक्षा सञ्चालनका लागि संघले पहल लिएको र आज यस विद्यालयले कला शिक्षकहरुलाई संम्मान तथा कला कार्यशाला राखेर नविन कार्यको शुरुवात गरेको बताउनु भयो ।
विद्यालयका प्राचार्य शैली सिंह राठौरले गुणस्तरीय शिक्षाका लागि विद्यालय सदैव सजग रहेको तर पालिका र सरोकारी निकायले आँखा चिम्लिँदा विद्यालयलाई सहज रुपमा ११ र १२ कक्षा सञ्चालन गर्न गाह्रो परेको बताउनुभयो ।
कार्यक्रम संयोजक केशवराज खनालले ढुङ्गा कुँदेर हिरा निकाल्ने कला शिक्षकप्रति कसैले चासो नराखेकाले यो सम्मान कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो । खनालले कलाशिक्षाका माध्यमबाट नयाँ कलाकारहरुलाई जन्माउने कला शिक्षकहरु सधँै आदरणीय रहेको र हरेक वर्ष यस प्रकारको कार्यक्रम गरिने जानकारी दिनुभयो ।

शहीद शुक्र विद्यालयले यस वर्ष २५ जना कलाकारलाई सम्मान गरेको हो । जस अनुसार कला शिक्षकहरु राजु पिठाकोटे, आर्या राजभण्डारी, सुमन श्रेष्ठ, ज्योति खड्का, सजनी श्रेष्ठ, चाँदनी बज्राचार्य, सुरेम देशार, सञ्जय प्रधान, लक्ष्मी मास्के (पुनम), सविता चित्रकार, प्रकाश मिजारलाई सम्मान गरिएको छ ।
यस्तै मलिका उदास, सरला श्रेष्ठ, किशोर रानाभाट, रेनुका महर्जन, मोहन सिवाकोटी, शुवाष क्षितिज श्रेष्ठ, दीपक कुवँर, रामकृष्ण महर्जन, जुनु माली, विपना महर्जन, मनरा प्रजापति, आनन्द श्रेष्ठ, डिबी राई र रतिना बज्राचार्यलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा ती कलाकारहरुबीच आजै विद्यालय प्राङ्गणमा कला कार्यशाला समेत आयोजना गरिएको थियो । उहाँहरुले बनाउनुभएका २ दजएन बढी चित्रकलाहरु यहाँ प्रदर्शन समेत गरिएको थियो ।