काठमाडौँ, १९ असार : साठी वर्षदेखि महिला अधिकार र लैङ्गिक समानताको क्षेत्रमा सक्रिय चाँदनी जोशीको संस्मरणात्मक पुस्तक ‘वेभिङ माइ साउथ एसियन टेपेष्ट्री’ (WEAVING MY SOUTH ASIAN TAPESTRY) आज एक समारोहका बीच सार्वजनिक गरिएको छ ।
जोशीकी छोरी सृष्टि जोशी मल्ल र छोरा प्रणय जोशीले ८० वर्षमा प्रवेश गरेकी आमालाई सम्मान गर्दै एकदिने उत्सव आयोजना गरी सो कृति लोकार्पण गरिएको बताउनुभयो ।
ललितपुरमा आज भएको कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुपति केदारभक्त माथेमा, नेपालका लागि पाकिस्तानी राजदूत एचइ अब्रार एच हासमी, पूर्वराजदूत भीम उदास, सार्ककी निर्देशक शाहिया अलि मानिक, मानवअधिकारकर्मी चरण प्रसाईं, संयुक्त राष्ट्रसंघकी महिला प्रतिनिधि प्याट्रिसिया फर्नान्डेज पचेको र संयुक्त राष्ट्र संघकी पूर्वसहायक महिला प्रतिनिधि सङ्गीता राणा थापाले एक समारोहमा कृतिको लोकार्पण गर्नुभएको थियो ।
बुकहिलले प्रकाशन गरेको उक्त पुस्तक लोकार्पणमा कार्यक्रममा शिक्षाविद् केदारभक्त माथेमाले आफ्नी सहपाठी जोशीको खुलेर प्रशंसा गरे । “जीवनका जस्तै कठिन अवस्थामा निडर रही एक विद्रोही नारीको भूमिका उनले निर्वाह गरिन् र उनले जीवनमा आज यो सफलता प्राप्त गरेकी हुन्”, माथेमाले भन्नुभयो ।
नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच हासमीले नेपालमा मात्रै नभएर संसारभरका नारीका लागि चाँदनी जोशी प्रेरक रहेको बताउनुभयो ।
कार्यक्रममा मन्त्री भण्डारीले यो देशमा कहिल्यै केही भएन, केही गर्न सकिएन भन्ने भाष्यलाई चिर्ने नारी चाँदनी जोशी भएको प्रतिक्रिया दिनुभयो । मन्त्री भण्डारीले जोशी नारीका लागि मात्र नभएर पुरुषका लागि पनि प्रेरक हुनुभएको स्मरण गर्नुभयो ।
पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठले महिला अधिकारका क्षेत्रमा उहाँको भूमिका उल्लेखनीय रहेको प्रतिक्रिया दिनुभयो । मानवाधिकारकर्मी चरण प्रसाईंले चाँदनी जोशीले गरेको कार्य कुनै अधिकारको क्षेत्रमा काम गर्ने संस्थाको भन्दा उच्च रहेको भन्दै सबैलाई उहाँबाट प्रेरणा लिन आग्रह गर्नुभयो ।
सानो उमेरमा पाल्पाबाट बाबुआमाका साथमा काठमाडौँ आएर कलेज अध्ययन गरी पद्मकन्या कलेजबाट लेक्चरर जीवनको शुरुवात गरेकी चाँदनी जोशीले महिला अधिकार र लैंगिक समानताका क्षेत्रमा ६० वर्ष काम गर्नुभएको छ ।