काठमाडौँ, १७ असार : मनसुन अवधि (जेठ १५ देखि असार १६) एक महिनाको अवधिमा ६७४ वटा विपदका घटना भएको छ ।
उक्त घटनामा परेर ३१ जनाको मृत्यु भएको छ भने ११२ जना घाइते भएका राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका प्रवक्ता, उपसचिव सुरेन सुनारका अनुसार यो एक महिनाको अवधिमा पहिरोका मात्रै ८७ वटा घटना भएको छ । पहिरोका कारण २ जना घाइते भएका छन् भने २५ घर आंशिक र ११ घर पूर्ण क्षति भएको छ ।
एउटा पुल, सातवटा गोठ र १४ पशु चौपाय क्षति भएको तथा पहिरोबाट २ करोड २१ लाखको भौतिक क्षति भएको छ ।
बाढीका ६४ वटा घटना भएको छ भने त्यसमा परेर ४ जनाको मृत्यु भएको सुनारले बताउनुभयो । जसमा १ महिला र ३ पुरुष छन् ।
एक जना बेपत्ता छन् भने अहिलेसम्म ४ जना घाइते भएका छन् । कुल १२३ परिवार प्रभावित भएका छन् । ४ वटा घरमा क्षति पुगेको छ । बाढीका कारण १ पुल, २ गोठ र १३ वटा पशु चौपाय क्षति भएको छ । ३ करोड ६५ लाखको क्षति भएको छ ।
चट्याङका ८२ वटा घटनामा ८ जनाको मृत्यु भएको छ । कुल २० जना घाइते भएका छन् । ९७ परिवार प्रभावित भएका छन् भने १२ लाख ५२ हजारको भौतिक क्षति भएको छ ।
हावाहुरीका ४५ घटनामा १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । ७२ परिवार प्रभावित भएका छन् । भारी वर्षाका ४५ वटा घटना भएको र त्यसबाट १ जनाको मृत्यु भएको छ भने २०४ परिवार प्रभावित भएका छन् ।
कुल २६७ वटा आगलागीका घटना भएको र त्यसमा परेर ३ जनाको मृत्यु भएको छ । आगलागीबाट ३० जना घाइते भएका छन् । ३२० परिवार प्रभावित भएका छन् । झण्डै २६ करोडको आर्थिक क्षति भएको छ ।
सो अवधिमा ४७ वटा जनावरको अक्रमणबाट ८ जनाले ज्यान गुमाएका छन् । २० जना घाइते भएका छन् ।
सो अवधिमा १५ वटा लेक लागेका घटनामा ४ जनाको मृत्यु र ११ जना घाइते भएका छन् । सर्पदंशका २२ वटा घटना भएको र २ जनाको मृत्यु भएको तथा २२ जना घाइते भएका प्राधिकरणले जनाएको छ । नेपालमा गएको जेठ १५ गते मनसुन भित्रिएको थियो ।