काठमाडौँ, १५ असार : त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा भएको नेपालमा पहिलो राष्ट्रिय मनोवैज्ञानिक तथा मनोपरामर्श सम्मेलनले अध्यायन तथा अनुसन्धान बढाउनुपर्नेमा जोड दिएको छ ।
त्रिभुवन विश्वविद्यालयको केन्द्रीय मनोविज्ञान विभाग र त्रिविकै मनोपरामर्श एमए कार्यक्रमको संयुक्त आयोजनामा भएको सम्मेलनमा ३२ वटा विभिन्न अनुसन्धानमूलक कार्यपत्रहरू प्रस्तुत गरिएका र त्यसले विश्वविद्यालयहरुले अध्ययन अनसन्धानमा जोड दिँदै नयाँ खाज गर्नुपर्नेमा जोड दिएको त्रिविका मनोविज्ञान केन्द्रीय विभागका प्रमुख डा. खेमराज भट्टले जानकारी दिनुभयो ।
शनिवार भएको उक्त सम्मेलनमा विभिन्न पाँच सत्रहरू आयोजना गरिएको थियो । ‘शिक्षा र साइकोमेट्रिक्स’ शीर्षकमा भएको सेसनको अध्यक्षता डा. सन्देश ढकालले गर्नुभएको थियो । ‘बालबालिका र किशोरकिशोरीको मानसिक स्वास्थ्य’ शीर्षकको अर्को सेसनको अध्यक्षता डा. नन्दिता शर्माले गर्नुभएको थियो ।

‘मनोविज्ञान र मनोपरामर्शमा समसामयिक विषय’ शीर्षकको अर्को सेसनको अध्यक्षता डा. नारायणप्रसाद शर्माले गर्नुभएको थियो ।
‘डिजिटल स्वास्थ्य र अन्य विषयहरू’ शीर्षकको सेसनको अध्यक्षता डा. खेमराज भट्टले गर्नुभएको थियो भने ‘कार्यस्थल व्यवहार’ शीर्षकको अर्को सेसनको अध्यक्षता डा. केदार रायमाझीले गर्नुभएको थियो ।
कार्यक्रममा मनोविज्ञान क्षेत्रका विज्ञ, विभिन्न क्याम्पसका विभागीय प्रमुखहरू, शिक्षकहरू, विद्यार्थीहरू साथै मनोविज्ञान क्षेत्रमा रुचि रहेकाहरूको उल्लेख्य उपस्थिति थियो ।
नेपालमा पछिल्लो समयमा मानिसहरु डिप्रेसनमा जाने र आत्महत्यासम्म पुग्ने अवस्था दैनिकजसो देखिँदै आएको छ । प्रहरीको तथ्यांकमा पनि आत्महत्याको दर बढिरहेको छ ।

‘साइकोलोजी इन द चेन्जिङ वल्र्ड’ भन्ने नारासहित आयोजना गरिएको समेलनमा त्रिविका रेक्टर प्रा.डा. दुविनन्द ढकालले यस्ता कार्यक्रमहरुले मनोविज्ञान मात्रै नभएर सामाजिक विज्ञानका क्षेत्रमा सकारात्मक योगदान गर्ने बताउँदै यसको आगामी वर्षहरुमा पनि निरन्तरताका लागि आग्रह गर्नुभएको छ ।
“सामाजिक क्षेत्रमा देखिएको विभिन्न जटिलताहरुलाई यस्ता किसिमका सम्मेलनले सम्बोधन गर्न भूमिका खेल्छ, उहाँले भन्नुभयो, “आफ्नो स्थानबाट समाजलाई सकारात्मक दिशा प्रदान गर्न यो सम्मेलनले महत्वपूर्ण सुरुवात गरेको छ । आगामी दिनमा यसको दायरा बढाउँदै लैजानुपर्छ ।”
मनोविद् डा. शिशिर सुब्बाले मनोविज्ञान आयातीत ज्ञान भएकाले पश्चिमको आँखाले पूर्वका समस्याहरूलाई हेर्न नहुने बताउनुभयो । उहाँले पश्चिमको ज्ञानलाई पूर्वको संस्कृतिसँग जोड्न सकियो भने मनोविज्ञानको ज्ञान प्रभावशाली बन्न जाने बताउनुभयो ।
मनोविज्ञान केन्द्रीय विभागका प्रमुख डा. खेमराज भट्टले नेपालमा वि.सं. २०३८ सालदेखि मनोविज्ञानको सुरु भएको तर नेपालकै सांस्कृतिक र धरातलीय यथार्थमा भएका अनुसन्धानको भने कमी रहेकाले पनि यस क्षेत्रको विकासका लागि अध्ययन अनुसन्धान आवश्यक रहेको बताउनुभयो ।
यसको यथार्थ महसुस गरेर नै पहिलो राष्ट्रिय सम्मेलन आयोजना गरिएको उहाँको भनाइ थियो ।
“अरु विभागसँगै स्थापना भएको मनोविज्ञान नयाँ विषय होइन, औपचारिक रुपमा ३८ सालबाट सुरु भएको यो विभागलाई अझै परिष्कृत बनाउँदै यहाँसम्म आइपुग्ने क्रममा यो सम्मेलन आयोजना भएको हो”, उहाँले भन्नुभयो ।

उहाँले आगामी दिनमा नेपालमा मनोविज्ञानको अन्तर्राष्ट्रिय सम्मेलन गर्ने योजनाबारे जानकारी गराउनुभएको छ । सम्मेलनका लागि ठूलो संख्यामा अनुसन्धाताहरूको कार्यपत्र आएको र तीमध्ये छानिएका कार्यपत्र सम्मेलनमा प्रस्तुत गरिएको उहाँले बताउनुभयो ।
त्यस्तै, मनोपरामर्श एमए कार्यक्रमका प्रमुख डा. सन्देश ढकालले कार्यक्रमका सहभागीहरूलाई धन्यवाद दिँदै सबैको साथ र सहयोगले सम्मेलन गर्न सफल भएको बताउनुभयो ।
त्रिवि विश्वविद्यालय क्याम्पसका प्रमुख डा. अक्कलदेव मिश्रले समाज विज्ञान, प्राकृतिक विज्ञान र गणित विज्ञानको महत्वबारे कार्यक्रममा स्पष्ट पार्दै मनोविज्ञानसम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन आयोजना गरेकामा आयोजकहरूलाई बधाई दिनुभयो ।
विभागकी पूर्वप्रमुख प्रा.डा. नन्दिता शर्माले सम्मेलन होला नहोला भन्ने परिस्थितिका बाबजुद सहज तवरले सफलतापूर्वक सम्पन्न भएको आभार व्यक्त गर्नुभयो ।