काठमडौँ, १३ असार : काठमाडौँ महानगरपालिका शिक्षा विभाग र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा महानगरअन्तर्गतका ४६ विद्यालयमा सञ्चालित शिक्षामा सीप कार्यक्रमअन्तर्गत विद्यार्थीहरूबाट सिर्जित कलाकृतिको प्रदर्शनी आजबाट सुरु भएको छ ।
प्रदर्शनीको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्रदशर्शनी उद्घाटन गर्दै शिक्षा र कलालाई सँगसँगै जोडेर लैजान जरुरी रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “यो हेर्दा सामान्यजस्तो लाग्छ तर समाजमा भोलि सिर्जनात्मक रूपले बौद्धिक र प्राज्ञिक क्षेत्रमा जानुका साथै विभिन्न व्यक्तित्व निर्माणका लागि पनि प्रारूपमा कला सिर्जना आधारभूत कुरा हो ।”
भिडिओ यहाँ:
https://www.facebook.com/samriddhisanchar/videos/962166272582272
प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले प्रदर्शनीमा करिब १ हजार ३०० भन्दा बढी विद्यार्थीले सिर्जना गरेका चित्र तथा मूर्ति राखिएको जानकारी दिनुभयो ।
उहाँले सिर्जनशील समाजसँगै सिर्जनशील नागरिक बनाउन कलाको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै यस प्रदर्शनीले नेपालको भोलिको दिन कस्तो हुन्छ भनेर चित्र/मूर्तिमार्फत सङ्केत गरेको धारणा राख्नुभयो ।
कार्यक्रम संयोजक तथा प्रतिष्ठानका बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगङ्गा दर्शनधारीले कलाकार बन्नु ठूलो कुरा भएको बताउँदै यसमा पनि अन्य क्षेत्र जत्तिकै प्रगति गर्न सकिने बताउनुभयो ।
यही असाज १७ गतेसम्म चल्ने प्रदर्शनीमा काठमाडौँ महानगरअन्तर्गतका पशुपति मित्र स्रोत केन्द्र मा.वि, श्रम राष्ट्रिय मा.वि, वाल व्यसायी केन्द्र मा.वि, शिवपुरी मा.वि, शान्ति विधागृह मा.वि, बाँसवारी मा.वि, महेन्द्र राष्ट्रिय मा.वि, धुम्रबराह मा.वि, टङ्गाल मा.वि, नन्दी मा.वि, पद्मोदय मा.वि, शहिदशुक्र मा.वि, पद्मकन्या मा.विका विद्यार्थीहरुको सिर्जना समावेश छ ।

यस्तै विजय स्मारक मा.वि, भानु मा.वि, संस्कृत बौद्घ मा.वि, रत्नराज्य मा.वि, महेन्द्रबौद्ध मा.वि, नव जागृति मा.वि, जनकल्याण मा.वि, ज्ञानोदय मा.वि, जन प्रभात मा.वि, नील बाराही मा.वि, कुलेश्वर मा.वि, जन विकास मा.वि, जनपथ मा.वि, शान्ति निकुञ्ज मा.वि, नेपाल आदर्श मा.वि, बाल सेवा मा.वि, विश्व निकेतन मा.वि, गुहेश्वरी बाल शिक्षा मा.वि, सरस्वती निकेतन मा.वि, कन्या मन्दिर मा.विका विद्यार्थीको पनि सहभागिता छ ।
यस्तै शान्ति शिक्षा मन्दिर मा.वि , गीतामाता मा.वि, शारदा मा.वि , भिमसेनगोला मा.वि, शितला मा.वि, सिद्धिगणेश मा.वि, तरुण मा.वि, जुद्धोदय मा.वि, नेपाल युवक मा.वि, जनजागृति ज्ञान रश्मि मा.वि, सिद्धेश्वर मा.वि, कोटेश्वर सरस्वती मा.विका विद्यार्थीले सिर्जना गरेका कलाकृतिहरू पनि यहाँ राखिएको छ ।
यससँगै प्रदर्शनीको सन्दर्भ पारेर प्रशिक्षक तथा सहायक प्रशिक्षकहरूले सिर्जना गर्नुभएका कलाकृति समावेश गरेर ‘एकता’ शीर्षकमा सोही कार्यक्रममा अर्को कला प्रदर्शनी पनि सुरु भएको छ । आज उद्घाटनका अवसरमा ती विद्यालयका विद्यार्थीहरुको समेत सहभागिता रहेको थियो।


