काठमाडौँ, ५ असार : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले मुलुकको संस्कृति र सम्पदाको सही सदसपयोग गर्न समेत देश समृद्धि हुने बताउनुभएको छ ।
साँस्कृतिक संस्थानको ५३औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री पाण्डेले देश समृद्धिको बाटोमा अघि बढिरहेको र त्यसका लागि सम्पदाको सही सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “सम्पदा र संस्कृतिलाई सदुपयोग गर्न सक्ने खुवी प्रस्तुत गर्न सके देश समृद्ध राष्ट्रको रुपमा र सुखी राष्ट्रको रुपमा अघि बढ्न सक्छ ।”
मन्त्री पाण्डेले भूकम्पपछि फेरि उहि अवस्थामा देश आएको र कोभिडका कारणले अर्थतन्त्र कमजोर भए पनि अहिले विस्तारै अर्थतन्त्र चलायमान हुँदै गएको बताउनुभयो । राजनीतिक द्वन्द्वबाट मुलुक शान्तिमा रुपान्तरण भएको तथा नेपालले कुनै भोकमरी गृह युद्ध नभोगेको बताउँदै मन्त्री पाण्डेले अब देश अगाडि बढ्न कसैले नरोक्ने बताउनुभयो ।
उहाँले साँस्कृतिक संस्थानले पछिल्लो समयमा उत्कृष्ट काम गरिरहेको र मन्त्रालयले आवश्यक साथ दिने प्रतिबद्धता जनाउनुभयो ।
सो क्रममा मन्त्री पाण्डेले यहाँ निर्मित सेमिनार भवनको समेत उद्घाटन गर्नुभएको थियो । उहाँले साँस्कृतिक संस्थान राष्ट्रिय दीर्घसाधना सम्मानबाट नेपालका पहिलो नृत्य निर्देशक भैरबहादुर थापालाई सम्मान प्रदान गर्नुभयो ।
सो क्रममा संस्थानले नाट्यतर्फ लोकनाथ ढकाल, नृत्यतर्फ मिथिला शर्मा, बादनतर्फ पञ्चनारायण महर्जन, गायनतर्फ चन्द्रकला शाह र कर्मचारी नर्सिङलाल श्रेष्ठलाई सम्मान तथा पुरस्कार प्रदान गरेको थियो ।
कार्यक्रममा गीति नाटक मुनामदनसहित विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।