काठमाडौँ, ४ असार : कवि वसन्त चौधरीको पहिलो आख्यान “देवयानी” आज (बुधवार) ललितपुरमा आयोजित एक समारोहका बीच लोकार्पण गरिएको छ ।
साङ्ग्रिला बुक्सद्वारा प्रकाशित “देवयानी”को डिजिटल लोकार्पण गरिएको हो। यसअघि चौधरीका कविता, गीत, गजल, निबन्ध गरेर २२ कृति प्रकाशित छन् । “देवायानी” उहाँको २३औँ कृति हो भने आख्यानमा पहिलो हो ।
कार्यक्रमको पहिलो चरणमा लेखक उमा सुवेदी, अमर न्यौपाने, विश्वमोहन श्रेष्ठ, उषा शेरचन, समीक्षक कुमारी लामा तथा पत्रकार बबिता बस्नेतको पठन अनुभव समेटिएको सामग्री प्रस्तुत गरिएको थियो ।
लेखक तथा समिक्षकले ‘देवयानी’ उपन्यासले नेपाली समाजको अव्यक्त प्रेमको पाटो उजागर गरेको बताउनुभयो । लेखक अमर न्यौपानेले यस उपन्यासले पुरुषको मनोदशालाई प्रभावशाली शैलीमा दुरुस्तै उतारेको बताउनुभयो भने समिक्षक कुमारी लामाले यो पुस्तकले प्रेम र त्यसमा पनि महिलाको मौन विद्रोहको चित्रण शसक्त तरिकाले गरेको बताउनुभयो ।
लेखक उषा शेरचनले उहाँको आख्यानको शैली र प्रस्तुति काव्यात्मक रुपमा पनि अकर्षक रहेको र हृदयले पढ्न खालको उपन्यास रहेको प्रतिक्रिया दिनुभयो ।
त्यस्तै दोस्रो चरणमा लेखक वसन्त चौधरीसँग अभिनेता दिव्यदेवले लेखन र ‘देवायनी’ उपन्यासमा केन्द्रित रहेर संवाद गर्नुभएको थियो ।
लेखक चौधरीले प्रेमका विषयमा अनगिन्ति आख्यान लेखिए पनि आफूले समाजमा विद्यमान प्रेमको नितान्त फरक पाटोमा कलम चलाएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रेम एकै हुन्छ । व्यक्त गर्ने र ग्रहण गर्ने तरिका फरक हुन्छ । देवायनीमा मैले लेखेको प्रेमबारे समाज बोल्न हिच्किचाइरहेको छ । त्यो पाटोमा कसैले लेखेकै छैन । त्यसैले मैले लेखेको हुँ ।” आफ्नो लेखन प्रकृयाबारे बोल्दै लेखक चौधरीले आफूले समाजकै यथार्थलाई उतारेको उल्लेख गर्नुभयो ।
साङ्ग्रिला बुक्सकी निर्देशक आन्विका गिरीले वसन्त चौधरीको आख्यानमार्फत् नेपाली पाठकलाई समसामयिक आख्यानका विषयभन्दा फरक विषय प्रस्तुत गरेका बताउनुभयो ।