काठमाडौँ, ४ असार : पाँच दशक बढी समयदेखि गीत सङ्गीतको क्षेत्रमा सक्रिय वरिष्ठ गायक दीप श्रेष्ठलाई ‘नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान दीर्घ साधना सम्मान’ प्रदान गरिने भएको छ ।
विसं २००७ मङ्सिर २६ गते सुनसरीको धरानमा जन्मनुभएका गायक श्रेष्ठले १८ वर्षको उमेरमा रेडियो नेपालमा ‘म पत्थरको देवता होइन’ बोलको गीत रेकर्ड गरी सङ्गीत क्षेत्रमा प्रवेश गर्नुभएको थियो ।
वरिष्ठ गायक श्रेष्ठले सङ्गीतको क्षेत्रमा गर्नुभएको अतुलनीय योगदानको कदर गर्दै यसपालि दीर्घ साधना सम्मान प्रदान गर्ने घोषणा गरिएको नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्माले जानकारी दिनुभयो । उक्त सम्मानको राशि रु २ लाख र ताम्रपत्र रहेको छ ।
श्रेष्ठले रेडियो नेपालबाट २०२७ साल र २०२८ सालमा पुरुषतर्फ उत्कृष्ट गायन उपाधि एवं २०३० सालमा स्वर्ण पदक प्राप्त गर्नुभएको थियो । उहाँले ४ सय बढी गीत गाउनु भएको छ ।
प्रतिष्ठानले दीर्घ साधना सम्मान पाउनेसहित ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार’ पाउने ९ जना स्रष्टाको नामावली समेत घोषणा गरेको छ ।
यही असार ११ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट राष्ट्रपति भवन शीतलनिवासमा उक्त पुरस्कार तथा सम्मान प्रदान गरिने कुलपति शर्माले जानकारी दिनुभयो ।
यस्तै ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार’ गायिका कुन्ती मोक्तान, वरिष्ठ सङ्गीत संयोजक राजु अग्रवाल, वरिष्ठ नृत्य निर्देशक भुवनदास श्रेष्ठ, वरिष्ठ रङ्गकर्मी हरिबादुर थापा र वरिष्ठ नाटककार वेदकुमारी न्यौपानेलाई प्रदान गरिने भएको छ ।
यस्तै खोज तथा अनुसन्धान नृत्यविधातर्फ खोज तथा अनुसन्धानकर्ता कृष्णप्रसाद पौडेल (नृत्यानन्द), वरिष्ठ लोक गायक नारायण रायमाझी र वरिष्ठ शास्त्रीय सङ्गीत साधक कुशेश्वरप्रसाद राईलाई पनि ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञ पुरस्कार’ प्रदान गरिने प्रतिष्ठानकी सदस्यसचिव कुष्मा महरा ‘प्रगति’ले जानकारी दिनुभयो ।
ती ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कारको राशी भने जनही रु एक लाख रुपैयाँ र ताम्रपत्र रहेको महराले जानकारी दिनुभयो ।