काठमाडौँ, २ असार : काठमाडौँको तीनकुनेमा रहेको एक कम्पनीका शेयरधनी तथा सञ्चालकहरुले अष्ट्रेलियामा सर्भर राखेर मिलेमतोमा करोडौँको कर छली गरेको पाइएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।
त्यसरी कर छलीमा काठमाडौँ महानगरपालिका–३२ तीनकुनेस्थित नेपाल क्यान मुभ प्रालिका शेयरधनी÷सञ्चालकहरु सुदीप आचार्य, जीवन ज्ञवाली, गंगाबहादुर थापा, मनिषप्रसाद आचार्य, मिठु पौडेल र उप–कार्यकारी निर्देशक संगम पौडेल संलग्न रहेको अभियोगमा मुद्दा चलाइएको विभागकी उपमहानिर्देशक एवं प्रवक्ता कृष्णकुमारी श्रेष्ठले जानकरी दिनुभयो ।
प्रवक्ता श्रेष्ठले उनीहरुले मिलेमतोमा ६८ करोड ४४ लाख ५७६० रुपैयाँ बिगो बराबरको कर छली गरेको दावीसहित त्यसको शतप्रतिशत जरिवानासमेत गरी रु एक अर्ब ३६ करोड ८८ लाख ११ हजार ५२० असुल उपर गर्नुपर्ने मागदावीसहित उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको जानकारी दिनुभयो ।
मतियारको रुपमा काम गरेकाले उप–कार्यकारी निर्देशक संगम पौडेलको हकमा भने अन्य आरोपीकोभन्दा आधा सजायँको माग दावी गरिएको छ ।
विभगाले उक्त कम्पनीको कारोवारस्थलमा गरेको आकस्मिक निरीक्षणबाट आफ्नो व्यवसायिक कारोबारका लागि प्रयोगमा ल्याएको अनलाइन प्रणाली नियन्त्रणमा लिई आव २०७६÷०७७ देखि आव २०८१÷८२ को फाल्गुण महिनासम्मको कारोबार खुल्ने ट्रायल व्यालेन्सलगायतका महत्वपूर्ण कागजात तथा प्रमाणहरु रीतपूर्वक बरामद गरी अनुसन्धान गर्दा कम्पनीले उक्त पोर्टलको सर्भर अष्ट्रेलियामा राखी सेवा बिक्रीको ठूलो कारोबार आन्तरिक राजस्व विभागमा पेश गरेको मूल्यअभिवृद्धि कर आय विवरणमा नदेखाई बिक्री आय लुकाई ठूलो परिमाणमा मूल्य अभिवृद्धि कर तथा आयकर छली गरेको पाइएको जनाएको छ ।
उक्त करछलीका सम्बन्धमा अनुसन्धान गर्दा शेयरधनी÷सञ्चालकहरु सुदीप आचार्य, जीवन ज्ञवाली, गंगाबहादुर थापा, मनिषप्रसाद आचार्य, मिठु पौडेल र उप–कार्यकारी निर्देशक संगम पौडेल संलग्न रहेको पाइएपछि उनीहरुविरुद्ध मुद्दा चलाइएको विभागले जनाएको छ ।
दायर अभियोजनमा प्रस्तुत मुद्दामा कार्गो तथा कुरियर व्यवसाय गर्ने प्रतिवादीहरुले व्यावसायिक कारोबार गन एनसिएम पोर्टल आव २०७६÷७७ देखि नै सञ्चालनमा ल्याएकोमा नेपालको कर प्रशासनको निगरानीलाई छल्न उक्त पोर्टलको सर्भर अष्ट्रेलियामा राखी नेपालमा सेवा बिक्री लुकाउने÷छिपाउने कार्य गरेको दावी गरिएको छ ।
अनुसन्धानको क्रममा उक्त कम्पनीले अधिकांश शेयर स्वामित्व भएका प्रतिवादीहरु सुदिप आचार्य (५५.३३ प्रतिशत) र जीवन ज्ञवाली (१६ प्रतिशत)लाई विभागले पटकपटक ताकेता गर्दा समेत उपस्थित नभई फरार रहेको विभागले जानकारी दिएको छ ।
कम्पनीले सेवा बिक्रीलाई तोडमोड गरी म्यानुअलतवरले बिलिङ्ग गरी वास्तविक बिक्री कारोबार लुकाएको पाइएकाले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ विपरित कार्य गरी विभिन्न तवरले रु ६८ करोड ४४ लाख ५७६० रुपैयाँ बिगो बराबरको कर छली गरेको विभागलेका दावी छ ।
प्रतिवादीहरु सुदीप आचार्य, जीवन ज्ञवाली, गंगाबहादुर थापा, मनिषप्रसाद आचार्य, मिठु पौडेल र उप–कार्यकारी निर्देशक संगम पौडेलसमेतले एक आपसमा मिलोमतो गरी उक्त कम्पनीको सर्भर अष्ट्रेलियाबाट सञ्चालन गरेर नेपालको कर प्रशासनको पहुँचभन्दा बाहिर राखी मूल्य अभिवृद्धि कर र आयकरसमेत छली गरेको तथ्य प्रमाणि भएको विभागले जनाएको छ ।
विभागल भनेको छ, ‘उनीहरुले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेध गरेको कार्य तथा सोही ऐनको दफा ४ को खण्ड (क), (च) र (झ) बमोजिमको कसूर गरेको देखिएकाले प्रतिवादी शेयरधनी÷सञ्चालकहरू सुदिप आचार्य, जीवन ज्ञवाली, गंगाबहादुर थापा, मनिषप्रसाद आचार्य र मिठु पौडेलसमेतलाई विस्तृत अनुसन्धान तथा तहकिकात प्रतिवेदनको बिगो गणना तालिका अनुसार बिगो रकम असुल गर्ने तथा बिगोको शतप्रतिशत जरिवानासमेत गरी एक अर्ब ३६ करोड ८८ लाख ११ हजार ५२० असुल उपर गरी त्यसबाट कानुनसम्बत् ब्याजसमेत लगाई कैद सजायको मागदावी लिइएको छ ।’
यता कम्पनीका उप–कार्यकारी निर्देशक संगम पौडेलले मतियारको रुपमा काम गरेको दावीसहित विभागले मुख्य कसूरदारलाई हुने सजायको आधा सजाय हुन तथा अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिम प्रतिवादीहरुबाट क्षतिपूर्ति शुल्क भराउने मागदावी लिई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को अनुसूची २० बमोजिम उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको जानकारी गराएको छ ।