काठमाडौँ, १ असार : गृह मन्त्रालय मातहत रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले केन्द्रदेखि स्थानीय तहसम्मका सबै निकायलाई मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ अनुसार आवश्यक तयारीमा जुट्न अनुरोध गरेको छ ।
प्राधिकरणले आज सार्वजनिक सूचना जारी गरी यस वर्षको मनसुन अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने अनुमानलाई ध्यान दिँदै आआफ्नो जिम्मेवारी पूर्णरुपमा निर्वाह गर्न अनुरोध गरेको हो ।
जल तथा मौसम विज्ञान विभागबाट जारी हुने मौसमको पूर्वानुमान सम्बन्धी बुलेटिन, बाढी तथा मौसमको पूर्वानुमान सम्बन्धी पूर्वसूचना तथा पूर्वचेतावनी, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण लगायतका निकायबाट प्रवाह हुने पूर्वसूचना, पूर्वचेतावनी, सन्देशमूलक सूचना, जानकारीको पालना गरी सो अनुसार सतर्कता अपनाउन सबैमा हार्दिक अपिल गरिएको प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले जानकारी दिनुभयो ।
गएको जेठ १५ गते बिहीबार रातिदेखि कोशी प्रदेशबाट प्रवेश गरेको यस वर्षको मनसुन पश्चिमतिर विस्तार हुँदै जेठ २९ बाट लुम्बिनी प्रदेशका पूर्वी भू–भागसम्म पुगेको छ । यस बारेमा जल तथा मौसम विज्ञान विभागले मनसुन आगमन बुलेटिन मार्फत निरन्तर जानकारी गराउँदै आएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्वमा बनेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ कार्यान्वयनका लागि संघीय सरकारका जिम्मेवार निकाय, प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, सुरक्षा निकाय लगायत सरोकारवाला सबै निकायमा सम्प्रेषण भइसकेको जानकी दिँदै प्राधिकरणले जिम्मेवारी पूर्ण रुपमा निर्वाह गर्न पनि भनेको छ ।
सम्प्रेषित कार्ययोजनाका अतिरिक्त प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह एवं विभिन्न विषयगत निकायले आ–आफ्नो मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना तर्जुमा गरी कार्यान्वयन गर्न सक्ने व्यवस्था अनुसार अधिकांश निकायले योजना बनाइसकेको र केही निकाय बनाउने क्रममा रहेको जानकारी समेत प्राप्त भएको जनाइएको छ ।
यसवर्ष जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने र तापक्रम पनि सरदरभन्दा अधिक रहने अनुमान गरेको छ ।
मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ अनुसार यस वर्षको मनसुन अवधिमा बाढी, पहिरो, डुबान, भारी वर्षा, चट्याङजस्ता मनसुनजन्य विपद्बाट देशभर करिब ४ लाख ५७ हजार १४५ घरधुरीका १९ लाख ९७ हजार ७३१ जनसङ्ख्या प्रभावित हुन सक्ने आँकलन पनि सार्वजनिक भइसकेको छ ।