काठमाडौँ, २८ जेठ : मौसम बदली भएसँगै ठाउँठाउँमा परेको वर्षाका कारण क्रमशः तापक्रम केही घट्न थालेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको पूर्वक्षेत्रमा यो दुई दिन अली बढी वर्षा भएकाले तापक्रम घटेको, अन्य क्षेत्रमा तातो नै रहेको तर क्रमशः केही घट्ने जनाइएको छ ।
महाखाकाका मौसमविद् रोजन लामिछानेले पूर्वमा तापक्रम घटिसकेको र पश्चिमतर्फ अझै तापक्रम बढी नै रहेको तर क्रमशः घट्ने क्रममा रहेको बताउनुभयो । पूर्वमा भन्दा पश्चिम क्षेत्रमा बढी तातो हुने पनि उहाँले जानकारी दिनुभयो ।
मौसमविद् लामिछानेले पछिल्लो एक घण्टामा काठमाडौँ उपत्यकासहति झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, ताप्लेजुङ खोटाङ सङ्खुवासभा, सोलुखुम्बु, दोलखा, काभ्रे, नुवाकोट, गोरखा र मकवानपुरमा वर्षा भएको जानकारी दिनुभयो । यो क्रम भोलि र पर्सी पनि जारी रहने उहाँले बताउनुभयो ।
जसका कारण हिजो आजको भन्दा भोलि र पर्सीको तापक्रममा गिरावट आउने पनि उहाँले बताउनुभयो । ठूलो र देशैभरी एकैनासको वर्षा गराउने प्रणाली भने नभएको पनि महाशाखाले जनाएको छ । तर पनि दिउँसोको समयमा भने गर्मी नै महसुस हुने पनि लामिछानेले बताउनुभयो ।
महाशाखाले आज साँझ सूचनामार्फत भनेको छ, “विगत ३ घण्टादेखि कोशी प्रदेश र बागमती प्रदेशका केही स्थानहरुमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम र १–२ स्थानमा भारी वर्षा मापन भएको छ । सो वर्षा गराउने प्रणाली दक्षिण–पश्चिम तर्फ सर्दै गईरहेकोले आसपासका क्षेत्रमा समेत मेघ गर्जन÷चट्याङ सहित वर्षाको संभावना रहेको छ । गण्डकी र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानहरुमा समेत हल्का वर्षा भएको र बाँकी स्थानहरुमा समेत बदलीको क्रम बढ्दै वर्षा हुने संभावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध छ ।”
मनसुनको अवस्था
अहिले मनसुन जेठ १५ गतेकै अवस्थामा कोशी प्रदर्शनबाट अन्यत्र नफैलिएको बताउँदै लामिछानेले महाशाखाले अनुगमन गरिरहेको जानकारी दिनुभयो ।
लामिछानेले भन्नुभयो, “मनसुनका लागि अनुकुल वातावरण बन्दै गएको छ, केही दिनमा नयाँ परिणाम निस्किन्छ होला, सबै मापदण्ड पूरा भएपछि महाशाखाले बुलेटिनमार्फत जानकारी दिने छ ।”
मनसुन भित्रिने सरदर मिति (जुन १३) आउन अब २ दिन बाँकी छ । यसपाली यो मिति आउनुभन्दा १५ दिन अघि नै पूर्वी नेपालबाट मनसुन प्रवेश गरेको र पछि पूर्वी एसिया फर्किएको थियो ।