काठमाडौँ, २७ जेठ : नेपालमा सरदर मितिभन्दा १५ दिन अघि पूर्वबाट मनसुसन भित्रिएर कोशी प्रदेशमा फैलिएको आज १२ दिन भयो । यही जेठ १५ गते राति नेपालमा मनसुन भित्रिएको थियो ।
तर मनसुन कोशी प्रदेशबाट फैलिन नपाई पूर्वी एसिया फर्किएपछि अन्य प्रदेशमा फैलिन पाएको छैन । पूर्वी एसिया क्षेत्रमा भने बलियो न्यूनचापीय क्षेत्र बनेकाले मनसुनी वायु नेपालको कोशीबाट उता सोहोरिएको मौसमविद् बताउँछन् ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झा भन्नुहुन्छ, “मनसुन पूर्वी एसिया क्षेत्र मुख्यगरी फिलिपिन्सतिर सोहोरिएर गएकाले कोशीबाट अन्य क्षेत्र फैलिन पाएन, अझै केही दिन मनसुन फैलिने देखिँदैन ।”
मनसुन भित्रिए लगत्तै जेठ १७ गते पूर्वी नेपालमा ठूलो वर्षा र बाढी आयो र क्षति पनि गरायो । धरानधनकुटा सडकखण्डको सागुरीगढी गाउँपालिका–६ स्थित फेदीको १०० मिटर सडक लेउती खोलाको बाढीले बगायो भने झापामा माईखोलाको बाढीले २२ घर डुबानमा पार्यो । यस्तै मोरङ सुनसरीमा पनि असर गराएको थियो । त्यसपछि भने वर्षा खासै भएको छैन ।
त्यसो त पश्मिम तथा मध्यक्षेत्रमा स्थानीय र पश्चिमी वायु पनि सक्रिय रहेको छ । यो वायु नगई मनसुन पूर्ण सक्रिया हुँदैन । मौसमविद् झा पश्चिमी वायु अझै बलियो रहेको र पश्चिमी वायु कमजोर नभएकाले पनि मनसुन आउन नपाएको बताउनुहुन्छ ।
नेपालमा बङ्गालको खाडीको जलवाष्प बोकेर मनसुनी वायु आउँछ रफैलिन्छ । तर त्यो कमजोर भएको पनि उहाँले बताउनुभयो । जसकारण अहिले देशभर तापक्रम बढिरहेको छ भने गर्मी पनि भएको छ ।
मौसबविद्का अनुसार यसरी मनसुन ब्रेक हुनु भनेको राम्रो संकेत होइन । यसले कतै धेरै वर्षा गराउने र कतै खडेरी पार्ने हुनसक्छ ।
भोलिदेखि बदली सुरु हुन्छ
मौसमविद् झाले भोलिदेखि नेपालका कतिपय क्षेत्रमा फेरि बदली सुरु हुने बताउनुभयो । उहाँका अनुसार अहिले बंगालको खाडीमा फेरि अर्काे न्यून चापीय प्रणाली बनेको छ ।
यस्तै भारतको मध्यभूभागमा पनि न्यून चापीय क्षेत्र बन्दै गरेको उहाँले बताउनुभयो । जसको असर नेपालमा आइपुग्ने छ र वर्षा गराउने छ ।
यसवर्ष जल तथा मौसम विज्ञान विभागले धेरै वर्षा पनि हुने र गर्मी पनि बढी हुने आँकलन सार्वजनिक गरिसकेको छ । जसल अनुसार राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद प्रतिकार्य योजना लागू गरिसकेको छ ।
प्राधिकरणका प्रवक्ता रामबहादु केसी सोही अनुसार करिब २० लाख मानिस प्रभावित हुने र त्यसको १० प्रतिशतलाई राहत र उद्धार नै गर्नुपर्ने अवस्था आउन सक्ने अनुमानसहित तयारी गरिरहेको बताउनुभयो ।