काठमाडौँ, २७ जेठ : नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले यही जेठ ३० गते शुक्रवार काठमाडौँमा ‘राष्ट्रिय सङ्गीत तथा नाट्य उत्सव–२०८२’ अयोजना गर्ने भएको छ ।
प्रज्ञा–प्रतिष्ठानको कार्यालय नक्सालमा सोमवार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतिष्ठानले नेपालका सातै प्रदेशका मौलिक र रैथाने गीतसङ्गीत, नृत्य एवम् नाटकलाई उपत्यकासँग परिचित गराउँदै संस्कृति आदालतप्रदानका लागि उक्त सङ्गीत तथा नाट्य उत्सव आयोजना गर्न लागिएको जनाएको छ ।
भिडिओ :
https://www.facebook.com/samriddhisanchar/videos/1760762507872621
पत्रकार सम्मेलनमा प्रतिष्ठानकी कुलपति निशा शर्मा पोखरेलले उत्सवमा नेपाली लोकसङ्गीत, शास्त्रीय सङ्गीत, नाट्यकला र सांस्कृतिक विविधताको बहुआयामिक प्रस्तुति हुने जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “सातै प्रदेशका चर्चित तथा उदाउँदा कलाकारलाई एउटै मञ्चमा सहभागी गराइने यस उत्सवले नेपाली मौलिक धुन, वाद्ययन्त्र र नाट्य परम्पराको पुनरावालोकन गर्दै नवप्रवर्तनशील सिर्जनशीलतालाई उजागर गर्न सहयोग पुग्ने विश्वास गरेका छौँ ।”
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले समुद्घाटन गर्नुहुने उत्सवमा सङ्गीत, नाट्य र साहित्य विधाका वुद्धिजीवी, अनुसन्धाता, अग्रज स्रष्टा कलाकार, विद्यालय र कलेजका विद्यार्थीलाई समेत सहभागी गराइने उत्सवका संयोजक प्रतिष्ठानका उपकुलपति शम्भू राईले बताउनुभयो ।
बाह्य संस्कृतिको उपनिवेश एवम् आन्तरिक सांस्कृतिक दबदबाका कारण अल्पसङ्ख्यक जाति–भाषी समुदायका लोकसंस्कृति लोपोन्मुख अवस्थामा पुगेकोले ती लोक संस्कृति जगेर्नाका लागि पनि प्रज्ञा–प्रतिष्ठानले यस खाले उत्सव आयोजनाको रणनीति लिएको उपकुलपति राईले स्पष्ट पार्नुभयो ।
पत्रकार सम्मेलनमा प्रतिष्ठानकी सदस्यसचिव कुश्मा महरा, प्रगतिले उत्सवमा कोशी प्रदेशबाट आठ पहरिया राई जातिको ढोल नाच, माखण्डासे गीत, मधेस प्रदेशबाट मिथिला सङ्गीत र भोजपुरी गीत, बागमती प्रदशेबाट घ्याङ्ताङ निस्से नाच र फकन्दली नृत्य (नेपाल भाषा) प्रस्तुत हुने जानकारी दिनुभयो ।
यस्तै गण्डकी प्रदेशबाट झाम्रे र यानिमाया नृत्य, लुम्बिनी प्रदेशबाट डिग्रे पैसरी र लस्के नृत्य, कर्णाली प्रदशेबाट टप्पा गीत र झ्याउरे नृत्य, सुदूर पश्चिमबाट देउडा र छलिया नृत्य प्रस्तुत हुने उहाँले बताउनुभयो ।
उत्सवमा कवि लक्ष्मी मालीको कविता ‘आमा तिम्रो नाम के हो?’ कवितालाई वीरेन्द्र हमालको निर्देशनमा नाट्यमञ्चन समेत गरिने जानकारी दिइएको छ ।