काठमाडौँ, २५ जेठ : काठमाडौँ उपत्यकामा मोटरसाइकल चोकीका घटना बढ्दो छ । अघिल्लो आवमा भन्दा चलु आवको आजसम्ममा चोरिएर भेटिएको मोटरसाइकलको संख्या बढी देखिएको छ ।
आर्थिक वर्ष २०८०÷८१ मा चोरिएका मध्ये ४१७ वटा मोटरसाइकल भेटिएको थियो । यो चालु आव २०८१÷०८२को आज सम्ममा चोरिएका मध्ये ४६७ ओटा दुईपाङ्ग्रे सवारी साधन खोजतलास गरी ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । आव २०७९÷८० मा ४९९ वटा मोटरसाइकले भेटेर धनीलाई जिम्मा लगाइएको थियो ।
आज मात्रै चोरिएका मध्ये २२ वटा मोटरसाइक भेटेर ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले १२ ओटा स्कुटर र १० ओटा मोटरसाइकल सम्बन्धित धनीलाई आज हस्तान्तरण गर्नुभएको हो ।
उहाँले चोरीका ४४ ओटा दुईपाङ्ग्रे सवारीसाधन सहित चोरीमा संलग्न ६६ जना व्यक्तिहरूलाई पनि आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको बताउनुभयो ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौँ उपत्यकाको हात्तीसार, बौद्ध, जम्बुडाँडा, सुकेधारा, गोकर्णेश्वर, कपन, मुड्खु, स्वयम्भु, ईमाडोल, लुभु, गठ्ठाघर र बालकोटलगायतका स्थानबाट उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।
सवारी साधन जिम्मा लिए पश्चात सवारी धनीहरुले खुसी व्यक्त गर्दै सामुहिकरुपमा ट्राफिक प्रहरीलाई धन्यवाद समेत दिएका थिए ।
सवारी साधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लकलगायत सुरक्षा साइरनहरु जडान गर्न प्रहरीले सबैमा अनुरोध गरेको छ ।
मानिसहरूको आवत–जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरिक्षक दीपक गिरीले अनुरोध समेत गर्नुभएको छ ।
सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने जनाइएको छ ।