काठमाडौँ, १९ जेठ : गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बल विपद् व्यवस्थापनमा विज्ञ संगठन पनि भएकाले समयमै उद्धार गरी मानिसको जीवन जोगाउने दायित्वमा अग्रपंक्तिमा रहन निर्देशन दिनुभएको छ ।
सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय, हल्चोक पुगेर विपद् व्यवस्थापनको पूर्वतयारी तथा प्रतिकार्यको कार्ययोजनाबारे आज ब्रिफिङ लिँदै उहाँले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका सन्दर्भमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग नजिकको समन्वयमा रहेर काम गर्न सुझाव पनि दिनुभयो ।
सशस्त्र प्रहरीको ब्रिफिङ सुनेपछि मन्त्री लेखकले जल तथा मौसम विज्ञान विभागले यस वर्ष सरदरभन्दा बढी वर्षा हुने आँकलन गरेकाले विपद्का घटना बढ्न सक्ने संभावना देखिएको स्मरण गराउँदै सशस्त्र प्रहरी बल, नेपाल सबैखालका जोखिमका लागि तयारी अवस्थामा बस्नुपर्ने बताउनुभयो ।
त्यसअवसरमा सशस्त्र प्रहरी बलका निमित्त प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले संगठनले यस वर्षका लागि मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना तयार गरिसकेको जानकारी दिँदै पूर्वतयारी तथा प्रतिकार्यलाई प्रभावकारी बनाउन वडावडामा विपद् सूचक तयार पार्ने र विपद् स्वयंसेवकलाई तालिम दिने कार्यसमेत भइरहेको बताउनुभयो ।
बिफ्रिङमा सातै प्रदेशका बाहिनीपतिले आ–आफ्नो क्षेत्रको जोखिम अवस्था, पूर्वतयारी एवं उद्धारका अवस्थाबारे जानकारी गराउनुभएको थियो ।
सो अवसरमा प्रधान कार्यालयअन्तर्गत रहेको विपद् महाशाखाले समग्र तयारी, जनशक्ति तथा उद्धार सामग्रीहरुको अवस्थासहितको प्रस्तुतिकरण गरिएको थियो ।
ब्रिफ्रिङमा नेपाल प्रहरीका महानिरीक्षक दीपक थापा, गृह मन्त्रालयका निमित्त सचिव जयनारायण आचार्य, सुरक्षा महाशाखा प्रमुख सहसचिव रामचन्द्र तिवारी, विपद् तथा द्वन्द्व महाशाखा प्रमुख सहसचिव डा.टोकराज पाण्डे, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव रोशनी कुमारी श्रेष्ठको पनि सहभागिता थियो ।
उक्त अवसरमा गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बल, नेपालले प्रयोग गरिरहेका खोज तथा उद्धारका सामग्रीहरुको समेत अवलोकन गर्नुभएको थियो ।