जेठ १९, चितवन : मध्य नेपालमा अवस्थित भरतपुर महानगरपालिकाले देशका ९ पालिकासँग भगिनी सम्बन्ध कायम गरेको छ।
पछिल्लो समय भरतपुरमा भइरहेको पूर्वाधार विकाससँगै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रमा मारेको फड्कोले भरतपुरसँग भगिनी सम्बन्ध कायम गर्न खोज्ने पालिका वृद्धि हुँदै गएको छ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले देशका धेरै पालिकाबाट भगिनी अर्थात् मितेरी सम्बन्धको लागि प्रस्ताव आए उल्लेख गर्नुभयो ।
प्रस्तावहरु क्रमश कार्यापालिकाबाट पारित गरी भगिनी सम्बन्धहरु कायम गर्ने कार्यलाई अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो ।
भगिनी सम्बन्ध कायम भएसँगै दुई पालिकाले गरेका असल अभ्यासको आदनप्रदानले थप रचनात्मक कार्य गर्न सहयोग पुग्ने उहाँको भनाइ छ ।
भरतपुर महानगरले पोखरा महानगरपालिका, लुम्बिनी साँस्कृतिक नगरपालिका, धुरकोट गाँउपालिका, रुरुक्षेत्र गाँउपालिका, राप्ती गाँउपालिका, पचाल झरना गाँउपालिका, माडी नगरपालिका, डोल्पाको मुड्केचुला गाउँपालिका र ताराखोला गाँउपालिका बागलुङबीच भगिनी सम्बन्ध कायम भएको छ।
पछिल्लो समय भगिनी सम्बन्धको प्रस्तावसँगै विभिन्न पालिकाबाट अनुभव आदनप्रदान गर्न मासिक एक दर्जन पालिका भरतपुर आउने गरेका छन्।
महानगरपालिकाले विगत ८ वर्षको अवधिमा एक हजार किमी सडक कलोपत्रे गरिसकेको छ। यस्तै प्राकृतिक वित्त आयोगले गरेको कार्य सम्पादन मूल्याङ्कनमा देशभरका महानगर मध्ये लगातार ३ वर्ष प्रथम भएपछि भरतपुरको चर्चा चुलिएको छ।
भरतपुर महानगरपालिका बरुजु फर्छयौटमा देशको अब्बल पालिकाको रुपमा स्थापित छ। महानगरपालिकाले बेरुजु रकम शुन्यमा झार्ने योजना अघि सारेको छ।