काठमाडौँ, १८ जेठ : सरकारले गृह मन्त्रालयबाट जारी भएको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ कार्यान्वयन गर्दै मनसुनजन्य विपदको पूर्वतयारीलाई चुस्त बनाउन देशभरका पालिकाहरुमा परिपत्र जारी गरेको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिबाट स्वीकृत मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ को छायाँप्रति साथमा राखेर सबै महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई परिपत्र जारी गरेको हो ।
मन्त्रालयका शाखा अधिकृत सन्तोषकुमार खत्रीले यस वर्षको मनसुनमा अत्याधिक वर्षा हुने प्रक्षेपण भएकोले मनसुनजन्य विपद् न्यूनीकरणका लागि उल्लिखित कार्ययोजनामास्थानीय तहहरुको जिम्मेवारी भित्र पर्ने विषयमा मनसुन पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी कार्यहरु कार्यान्वयन गर्न र गराउन भन्दै मन्त्रालयले परिवर्त जारी गरेको हो ।
मन्त्रालयले स्थानीय तहलाई पालिकास्तरीय मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना तर्जुमा गरी लागू गरी जानकारी मन्त्रालयलाई गराउन, स्थानीय समुदायलाई मनसुनजन्य विपद्प्रति जागरुक बनाउन तथा जनचेतना अभिवृद्धि गर्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न भनिएको खत्रीले बताउनुभयो ।
यस्तै परिपत्रमा मनसुन विपद्को अवधिमा आवश्यक पर्ने खोज, उद्धार तथा राहत सामग्रीहरूको व्यवस्थापन गर्ने प्रतिकार्यको लागि नगर प्रहरीलाई आवश्यक साधन स्रोतसहित तयारी अवस्थामा राखे। पालिकामा रहेका स्वयंसेवकहरू परिचालन गपनि भनिएको छ ।
यस्तै पूर्वतयारी तथा प्रतिकार्यको लागि सरकारी, गैर सरकारी, निजी तथा मानवीय क्षेत्रमा कार्य गर्ने संघसंस्था, स्थानीय समुदाय तथा स्वयंसेवकहरूसँग सहकार्य र समन्वय गर्न तथा मनसुन अगावै सहर बस्तीका ढल सफा गर्न खोला नालामा अत्यधिक थुप्रिएका गेग्रान हटाउन तथा पानीका निकासहरू खोल्न पनि परिपत्रमार्फत अनुरोध गरिएको छ ।
स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई सक्रिय बनाई प्रभावकारी मनसुन प्रतिकार्यको लागि पालिकास्तरमा मनसुन प्रतिकार्य कमाण्ड पोष्ट स्थापना गरी प्रभावकारी सञ्चालन गर्न पनि, मनसुन पूर्व सूचना प्रणालीको विकास गर्न तथा मनसुनका समयमा हुने कालाबजारी, कृत्रिम अभाभव र आपराधिक घटना नियन्त्रणमा सक्रिय हुन पनि भनिएको छ ।