काठमाडौँ : नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले १८औँ गणतन्त्र दिवसका अवसर पारेर गणतन्त्र सुदृढीकरणमा सँस्कृतिकर्मीको भूमिका विषयक बृहत अन्तरक्रिया तथा गणतन्त्र स्रष्टा सम्मान–२०८२ कार्यक्रम प्रतिष्ठानको सभाहलमा सम्पन्न गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले गणतन्त्र नेपालको स्थापनाले आज भुईं तहका नागरिकहरु नेपालको उच्च तहमा नेतृत्वदायी भूमिका पूरा गर्ने स्थानसम्म पुगेको बताउनुभयो।
उहाँले भन्नुभयो, ‘हिजो नेपाली समाजमा राज्य सञ्चालकको सन्तान नै राज्यको मालिक बन्ने व्यवस्थाको आज अन्त्य भएको छ । दलित, महिला, मधेसी, मुस्लिम, आदिवासि जनजाति, अल्पसख्यक समुदायको अधिकार गणतन्त्रले सुनिश्चित गरेको छ। मलाई यो महत्वपूर्ण कार्यक्रममा बोलाउनु भयो, विद्वत संस्कृति चिन्तकहरुका कुराहरु बुझ्ने अवसर पाएको छु । राजतन्त्रात्मक राज्य व्यवस्था र गणतन्त्रमा कति धेरै फरक छ यो हामीले १७ वर्षको अवधिमा महसुस गरिरहेका छौँ। नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका समस्याहरु म राज्यमन्त्री हुनुको नाताले मैले गर्नुपर्ने पहल गर्ने कुरा यस कार्यक्रममा जानकारी गर्दछु ।’

कार्यक्रममा गणतन्त्र स्थापनाका १७ वर्ष वितेको र १८औँ गणतन्त्र दिवसको अवसरमा ‘गणतन्त्रको सुदृढिकरणमा संस्कृतिकमीहरुको भूमिका’ बारे बोल्नुहुँदै कार्यक्रमका विशिष्ट अतिथि तथा संस्कृतिविद् वरिष्ठ साहित्यकार निनु चापागाईँले नेपालमा गणतन्त्रको प्राप्तिको नारा ९० वर्ष अगाडि लागेको स्मरण गराउँदै सनातन हिन्दु राज्यको रुपमा रहेको सामन्तवादी राज्यसत्ता, राजतन्त्रात्मक व्यवस्था नेपाली जनताको लागि नभई सत्ता सञ्चालक र राज खानदानका लागि मात्र भएको जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘समाजमा जब एक थरी शासक र अर्कोथरी रैती हुन्छन्। त्यो समाजमा कुनै न कुनै हिसाबले विद्रोह हुन्छ । नेपाली समाजमा विगत इतिहास देखि नै विभिन्न चरणका आन्दोलन र संघर्षहरु भए । नेपालमा गणतन्त्र बहाली हुनुमा २०५२ देखि चलेको दशवर्षे जनयुद्ध र उत्कर्षको रुपमा १९ दिने जनआन्दोलन हुन् । त्यो भिषण संघर्षमा सयौं संस्कृतिकर्मीले महान बलिदान गरेका छन् । हजारौँ संस्कृतिकर्मीहरु र लाखौँ जनताको अभुतपूर्ण सहभागिताले गणतन्त्र संभव भएको हो । अन्तरक्रिया कार्यक्रमका अर्का विशिष्ट अतिथि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्व सदस्य सचिव प्राज्ञ श्याम तमोटले हिजो गणतन्त्रका लागि अनवरत संघर्ष गरेको इतिहास छ । आज नेपाली समाजको गणतन्त्र सुदृढिकरणका लागि संस्कृतिकर्मीहरुले सिर्जनामा निरन्तरता दिन जरुरी छ । गणतन्त्रको संस्कृति कस्तो बनाउने यो महत्वको जिम्मा संस्कृतिकर्मीमा आएको बताउँदै आफ्नै पार्टीका नेता तथा कार्यकर्ताहरुलाई सुसंस्कृत बनाउन जरुरी भएको छ ।’
गणतन्त्र दिवसका अवसरमा ७ जना बरिष्ठ स्रष्टाहरुलाई प्रज्ञा–प्रतिष्ठानले सम्मान गरेको छ। प्रतिष्ठानले गणतन्त्र स्रष्टा सम्मानको सुरुवात गर्दै वरिष्ठ सङ्गीतकार, एरेञ्जर प्राज्ञ उदय श्रेष्ठ, बरिष्ठ सङ्गीतकार तथा एरेञ्जर प्राज्ञ अशोककुमार राई, जनवादी गायक, सर्जक तथा सङ्गीतकार काशिराम बुढामगर ‘झन्कार’, जनवादी गायक, सर्जक तथा सङ्गीतकार माधव श्रेष्ठ ‘मोहित श्रेष्ठ’लाई सम्मान गरेको थियो।
यस्तै जनवादी गायिका, संविधानसभा सदस्य केशरी घर्तीमगर ‘एलिना’, बरिष्ठ निर्देशक तथा रङ्गकर्मी विरेन्द्रबहादुर हमाल, बरिष्ठ नृत्य निर्देशक तथा प्रफमर उदिराम खड्कालाई पनि सम्मान गरिएको थियो।
प्रतिष्ठानका उपकुलपति शम्भुकुमार राईले स्वागत गर्दै नेपालमा गणतन्त्र नआएको भए म जस्तो राईको छोरो यो प्रज्ञा–प्रतिष्ठानमा आउने थिएन भन्नुभयो ।
प्रतिष्ठानका सदस्य सचिव कुश्मा महराले सञ्चालन गरेको कार्यक्रममा त्याग, समर्पण र वलिदानको महागाथाबाट जनताको गणतन्त्र सुदृढ गर्न र नेपाली समाजका सङ्गीत तथा नाट्य क्षेत्रका समग्र स्ष्टा कलाकारहरुको अविभावक संस्था यस प्रतिष्ठानको विकासका लागि नेपाल सरकार तथा सम्पूर्ण सरोकारवाला निकायले आत्मवोध गरी यसको विकासमा लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रका सभापति तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानकी कुलपति निशा शर्मा पोखरेले गणतन्त्रका लागि विगतमा मञ्चन गरिएका नाटकहरुको स्मरण गर्दै कार्यक्रम सफलताको लागि आ–आफ्नो भूमिकाका सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभयो ।