काठमाडौँ, १५, जेठ : नेपाली ललितकलाको महाउत्सव मानिने ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८२’ आजबाट सुरु भएको छ ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा नक्सालमा आजदेखि सुरु १५ दिने प्रदर्शनीको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा प्रतिष्ठानका संरक्षक बद्रीप्रसाद पाण्डेले उद्घाटन गर्नुभयो ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले ‘सामाजिक रूपान्तरण : ललितकलाको अभियान’ भन्ने मूल भावमा रहेर सम्पन्न भएको ‘प्रादेशिक ललितकला प्रदर्शनी–२०८१’ मार्फत छानिएका कलाकृति समावेश गरी यहाँ राष्ट्रिय कला प्रदर्शनी सुरु गरिएको हो ।
गणतन्त्र दिवसका अवसरमा सातै प्रदेशबाट समावेशीरूपमा कलाको प्रतिनिधित्व हुने गरी कला प्रदर्शनी आयोजना हुनु महत्वपूर्ण रहेको मन्त्री पाण्डेले बताउनुभयो ।
प्रतिष्ठानका उपकुलपति तथा प्रदर्शनीका कार्यकारी संयोजक लालकाजी लामाले नेपालका रैथाने, मौलिक कला, शिल्प–ज्ञानलाई मूलधारमा ल्याई अन्तर्राष्ट्रियकरण गर्न सातै प्रदेशमा ‘प्रादेशिक ललितकला प्रदर्शनी’ गरी त्यसबाट छनोट भएका कलाकृति समेटेर ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८२’ आयोजना गरिएको जानकारी गराउनुभयो ।

प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले नेपाली ललितकला क्षेत्र पुनर्जागरणको चरणमा रहेको बताउँदै कलाकारले युगलाई जीवन्त बनाउने काम गर्ने र उनीहरूले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने सिर्जना गर्नुपर्ने बताउनुभयो । प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्रतिष्ठानले आगामी दिनमा अनुसन्धान, कलाकारको सर्वेक्षणलगायतका कामलार्ई प्राथमिकता दिने बताउनुभयो ।
‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८२’मा देशका ६५ जिल्लाका लोककला, शिल्प–हस्तकला, परम्परागत चित्रकला÷मूर्तिकला, वास्तुकला, समसामयिक÷आधुनिक चित्रकला÷मूर्तिकला, बहुआयामिक तथा अन्य सिर्जनात्मक कला, प्रतिस्थापन, भावभङ्गिमा, फोटोग्राफी, भिडियो आर्ट, डिजिटल, कार्टुनलगायतका विविध विधाका प्रतियोगी, अप्रतियोगी र आमन्त्रित ६०५ कलाकारका ६५० भन्दा बढी कलाकृति समावेश छन् ।
जसमा मुख्यतः थारू, अवधी, मिथिला, नेवार, पर्वते, भोजपुरी, तामाङ, राउटे, डोम, राई, किराँतका कलाको विशेष सहभागिता रहेको छ ।
सम्मान तथा पुरस्कार
समारोहमा यसवर्षको ‘अरनिको ललितकला राष्ट्रिय प्रज्ञा सम्मान’ अग्रज कलाकारहरू डा. सीमा शर्मा शाह र मङ्गल लामालाई प्रदान गरिएको छ । यस पुरस्कारको राशि १ लाख ५० हजार र सम्मानपत्र रहेको छ ।
‘सहिद कलाकार अनिल लामा स्मृति (ललितकला) पुरस्कार २०८१’ कलाकार अस्मिना रञ्जित र ‘सहिद कलाकार बाबुराम लामा स्मृति (ललितकला) पुरस्कार २०८१’ गङ्गाधर सारुलाई प्रदान गरिएको छ । यी पुरस्कारको राशि ५०÷५० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ ।
राष्ट्रिय ललितकला लेखन पुरस्कार सरोज बज्राचार्य, राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कार क्रमशः पत्रकार शिवा तामाङ र हेमन्त गौतमलाई प्रदान गरिएको छ ।
ललितकला लेखन पुरस्कारको राशि ६० हजार र सम्मानपत्र तथा ललितकला पत्रकारिता पुरस्कारको राशि ३०÷३० हजार र सम्मानपत्र रहेको छ । ललितकला प्रवद्र्धन सम्मान भने नेपाल हस्तकला महासङ्घ र प्रतिमा पाण्डेलाई प्रदान गरियो ।
सर्वोत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार विनम्र डङ्गोल (परम्परागत चित्रकला)लाई प्रदान गरियो । यस पुरस्कारको राशि १ लाख र सम्मानपत्र रहेको छ ।
राष्ट्रिय ललितकला पुरस्कार समसामयिक चित्रकलातर्फ कृष्ण लामा, समसामयिक÷आधुनिक मूर्तिकलातर्फ चन्द्रमणि मगर, परम्परागत चित्रकलातर्फ शंकरकुमार जोशी, परम्परागत मूर्तिकलातर्फ सुरेश लवट तुलाधर, शिल्प–हस्तकलातर्फ राजकुमार शिल्पकार, वास्तुकला तथा लोककलातर्र्फ ज्योतिकुमारी सापकोटा, बहुआयामिक तथा अन्य सिर्जनात्मक कलाअन्तर्गत फोटोग्राफीतर्फ सफलप्रकाश श्रेष्ठलाई प्रदान गरिएको छ । यस पुरस्कारको राशि ६० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ ।
प्रादेशिक पुरस्कार पाउनेहरु
प्रादेशिक उत्कृष्ट ललितकला पुरस्कार क्रमशः कोसीबाट ङावाङ छिरिङ शेर्पा (परम्परागत चित्रकला), मधेसबाट सोनाम सिंह भ्लोन (हस्तकला) बागमतीबाट रीना शाक्य (परम्परागत चित्रकला), गण्डकीबाट दलबहादुर गुरुङ (समसामयिक चित्रकला), लुम्बिनीबाट लिलाधर केसी (समसामयिक चित्रकला), कर्णालीबाट कुमारी सिता मल्ल (समसामयिक चित्रकला), सुदूरपश्चिमबाट रमेश कडायत (समसामयिक चित्रकला) लाई प्रदान गरियो । यी सम्पूर्ण पुरस्कारको राशि ५० हजार र सम्मानपत्र रहेको छ ।
त्यस्तै, प्रादेशिक समसामयिक चित्रकला विधातर्फ कोसीबाट महेन्द्र राई, मधेसबाट युगेश घिमिरे, बाग्मतीबाट सुन्दर लामा, गण्डकीबाट मनोज तामाङ, लुम्बिनीबाट आकाश बुढा मगर, कर्णालीबाट थुक्तेन लामा, सुदूरपश्चिमबाट दिपक आउजी, समसामयिक मूर्तिकलातर्फ कोसीबाट सुमन राई, मधेसबाट योगेन्द्र पण्डित कुम्हार, बागमतीबाट करुणा श्रेष्ठ, गण्डकीबाट रिहाना परियार, लुम्बिनीबाट बुद्ध थारू, कर्णालीबाट टोपेन्द्र डाँगी, सुदूरपश्चिमबाट महेन्द्र पुन मगरले पुरस्कार पाउनुभयो ।
प्रादेशिक परम्परागत चित्रकला विधातर्फ कोसीबाट दावा साङ्मु शेर्पा, मधेसबाट सोनम सिंह भ्लोन, बागमतीबाट रोशन ख्याजु, कर्णालीबाट सोनाम डोल्मा तामाङ, परम्परागत मूर्तिकलातर्फ कोसीबाट प्रतिक मञ्जुल बराइली, बागमतीबाट महेश शिल्पकार, शिल्प–हस्तकलातर्फ कोसीबाट शिव छाङ्छा (शिवकुमार राई), मधेसबाट सन्तोष यादव, बागमतीबाट सरोज सुनार, गण्डकीबाट विष्णु मुक्तान तामाङ, लुम्बिनीबाट बाल गोविन्द त्रिपाठी, कर्णालीबाट सोविन शाही, सुदूरपश्चिमबाट लालबहादुर कुमालले पुरस्कार पाउनुभयो ।
यस्तै वास्तुकला तथा लोककलातर्फ कोसीबाट माधवी कर्ण, मधेसबाट आरतीकुमारी साह, बागमतीबाट युनेस नापित श्रेष्ठ (वास्तुकला), लुम्बिनीबाट संचिता अग्रहरी, सुदूरपश्चिमबाट मित्थु थारू, बहुआयामिक तथा अन्य सिर्जनात्मक कलाअन्तर्गत प्रतिस्थापन कलामा बागमतीबाट विनयबहादुर रिमाल क्षेत्री, कला फोटोग्राफीमा कोसीबाट अर्जुन कुलुङ राई, मधेसबाट प्रशान्त चौधरी, गण्डकीबाट सृजना भुर्तेल, लुम्बिनीबाट मनी राम पन्थ र सुदूरपश्चिमबाट माधव ओझालाई पुरस्कृत गरियो । यी सम्पूर्ण पुरस्कारको राशि ३०÷३० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ ।
राष्ट्रिय ललितकला नवप्रतिभा पुरस्कार भीमबहादुर विकलाई प्रदान गरिएको छ । यस पुरस्कारको राशि ६० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ ।
प्रादेशिक ललितकला नवप्रतिभा पुरस्कार कोसीबाट भावना गुरुङ, मधेसबाट निरुपम जयसवाल, बाग्मतीबाट सुप्रिना घलान, गण्डकीबाट धावा दोर्जे गुरुङ, लुम्बिनीबाट रुकैया वानु, सुदूरपश्चिमबाट निशान्त सुनारलाई प्रदान गरियो । यस पुरस्कारको राशि ३० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ । प्रदर्शनी जेठ ३१ गतेसम्म चल्ने छ ।