काठमाडौँ : राजस्व अनुसन्धान विभागले कर छलीको आरोपमा रुपन्देहीको सुन्दर प्लाइउड सेन्टरका प्रोप्राइटर आकाश अग्रहरीविरुद्ध आज उच्च अदालततुलसीपुरको बुटवल इजलासमा मुद्दा दायर गरेको छ।
राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २० (६) बमोजिम कर छली गरेको दावीसहित एक करोड बढी असुल गर्नुपर्ने मागसहित मुद्दा दायर गरिएको विभागका उपमहानिर्देशक तथा प्रवक्ता कृष्णकुमारी श्रेष्ठले जानकारी दिनुभयो
अग्रहरीले सञ्चालन गरेको पसल तथा गोदामको खानतलासी तथा मालवस्तुको भौतिक निरीक्षण गर्दा राजस्व चुहावट गर्ने उद्देश्यले प्रस्तुत फर्मका नाममा मालवस्तु खरिद गरी मौज्दात किताबमा प्रविष्टि नगरेको, बीजक जारी नगरी मालवस्तु बिक्री गरेको, मौज्दात विवरणभन्दा अधिक मालवस्तु फेला परेको र खरिद तथा भन्सार पैठारी गरेको प्रमाण नभेटिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो।
उहाँले भन्नुभयो “उक्त कार्यबाट राजस्व चुहावट ९अनुसन्धान तथा नियन्त्रण० ऐन, २०५२ को दफा ३ ले निषेध गरेको कार्य गरी दफा ४ को खण्ड (क), (ख), (छ) र (झ) बमोजिम राजस्व छलीको कसुर गरेको पुष्टि हुन आएकाले कर छलीमा उच्च अदालतमा मुद्दा चलाएका हौँ।”
उहाँका अनुसार भन्सार चोरी पैठारी तर्फको अधिक मौज्दातको बिगो रु तीन लाख २५ हजार ८०७ र मूल्य अभिवृद्धि करतर्फको अधिक मौज्दातको बिगो रु दुई लाख ५२ हजार २७८, मूल्यअभिवृद्धि करतर्फको न्यून मौज्दातको बिगो रु १५ लाख ६९ हजार दुई सय ३६ र आयकरतर्फको बिगो रु ३१ लाख ८० हजार तीन सय २५ गरी जम्मा रु ५३ लाख २७ हजार छ सय ४६ बराबरको कर छली गरेको पाइएको छ।
राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३ (१) बमोजिम बिगो असुल उपर गरी बिगोको शतप्रतिशतसमेत जरिवाना गरी कूल रु एक करोड छ लाख ५५ हजार दुई सय ९२ असुल उपर गरी सोही ऐनको दफा २३ (१) (ख) बमोजिम सजायको माग दाबी लिई उच्च अदालतमा मुद्दा चलाइएको प्रवक्ता श्रेष्ठले बताउनुभयो।