काठमाडौँ, १३ जेठ : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले यसपालि सरदर मितिभन्दा अगाडि नै मनसुन प्रवेश हुने सम्भावना रहेको जानकारी गराएको छ ।
महाशाखाले आज साँझ ६ बजे मनसुन आगमन अनुगमन वुलेटिन जारी गर्दै नेपालको पूर्वी भू–भागबाट मनसुनको आगमन हुने सरदर मिति जुन १३ तारिख भए पनि यस वर्षको मनसुन आगमन सरदरभन्दा छिटो हुने देखिएको जानकारी गराएको हो ।
महाशाखाले आज भारतको असामका केही भू–भागहरू तथा भुटान र बंगलादेशको पूर्वी भू–भागसम्म मनसुन आगमन भएको जानकारी गराएको छ ।
महाशाखाले भनेको छ, ‘भू–उपग्रहबाट प्राप्त बादलका तस्वीर, वायुमण्डलीय तथा मौसम मोडेलबाट प्राप्त तथ्याङ्कको विश्लेषणका आधारमा यस वर्षको मनसुन यसै साताको अन्त्यसम्ममा नेपालको पूर्वी भू–भागबाट प्रवेश हुने सम्भावना देखिएको छ ।’
यस मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको र सोही अनुसार नियमित रूपमा अद्यावधिक गर्दै लगिने पनि जानकारी गराएको छ ।
महाशाखाले यहाँबाट जारी हुने तीनदिने मौसम बुलेटिन नियमित हेर्न र अद्यावधिक मौसमी सूचनाको जानकारी लिन समेत सार्वजनिक सूचनामार्फत सबैमा अनुरोध गरेको छ ।
जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले यसपाली सरदरभन्दा बढी वर्षा हुने आँकलन सार्वजनिक भइसकेकाले बेलैमा सचेतना अभियानलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ ।