काठमाडौँ, १२ जेठ : नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले गणतन्त्र दिवसको अवसर पारेर यही जेठ १५ गतेबाट राष्ट्रिय ललितकला प्रदर्शनी २०८२ आयोजना गर्ने भएको छ ।
प्रतिष्ठानको कार्यालय नक्सालमा आज पत्रकार सम्मेलन गरी प्रतिष्ठानले नेपाली चित्रकला, मूर्तिकला, लोककला, हस्तकला, वास्तुकला तथा अन्य सिर्जनात्मक बहुआयामिकलगायत विविध विधा–उपविधागत कला समावेश हुने गरी १५ दिने ललितकला प्रदर्शनी आयोजना गर्न लागिएको जानकारी दिएको हो । यो ललितकला क्षेत्रकै महाउत्सव मानिने प्रदर्शनी हो ।

प्रतिष्ठानले ‘सामाजिक रूपान्तरण ः ललितकलाको अभियान’ भन्ने मूल भावमा रहेर सम्पन्न गरेको ‘प्रादेशिक ललितकला प्रदर्शनी–२०८१’मार्फत छानिएका कलाकृति समावेश गरेर उक्त प्रदर्शनी आयोजना गर्न लागेको जनाएको छ ।
पत्रकार सम्मेलनमा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले यस प्रदर्शनीसँगै तेस्रो वर्षमा अनुसन्धानलाई जोड दिँदै कलाकारको सर्वेक्षण र प्रोफाइल तयार गर्ने र विविध कला अभियानलाई अघि बढाउने रणनीतिक योजना अघि सारिएको बताउनुभयो ।
यसपालि प्रादेशिक ललितकला प्रदर्शनीमा सहभागी र अप्रतियोगी कलाकृतिसमेत समावेश गरी ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८२’ मा ५७१ कलाकारका ६०६ कलाकृति प्रदर्शनीमा राखिने उहाँले बताउनुभयो । उपकुलपति तथा प्रदर्शनीका कार्यकारी संयोजक लालकाजी लामाले प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो ।
उहाँले राष्ट्रिय ललितकला प्रदर्शनीको इतिहासको चर्चा गर्दै यसमार्फत मौलिकताको जर्गेना, रैथाने कलाको पहिचान गरी मूलधारमा ल्याउन आवश्यक रहेको धारणा राख्नुभयो ।
भिडिओ:
https://www.facebook.com/samriddhisanchar/videos/564568466698082
उहाँले कोशी प्रदेशबाट ८२ कलाकारका ८२, मधेस प्रदेशबाट ८८ कलाकारका ९८, बागमती प्रदेशबाट १६४ कलाकारका १८३, गण्डकी प्रदेशबाट ५३ कलाकारका ५५, लुम्बिनी प्रदेशबाट ६५ कलाकारका ६६, कर्णाली प्रदेशबाट ४० कलाकारका ४१, सुदूरपश्चिम प्रदेशबाट ३९ कलाकारका ३९ कलाकृति प्रदर्शनीमा रहने छन् । प्रदेशगत छुट्टा छुट्टै ग्यालरी रहने जनाइएको छ ।
प्रदर्शनीमा अप्रतियोगीअन्तर्गत ४५ र आमन्त्रित ३३ गरी ७८ कलाकारका ७९ कलाकृति पनि समावेश हुने छन् ।
विधागत रूपमा समसामयिक चित्रकलाका २०१ कलाकारका २०८, परम्परागत चित्रकलाका ७२ कलाकारका ७३, समसामयिक/आधुनिक मूर्तिकलाका ५१ कलाकारका ५२, परम्परागत मूर्तिकलाका १६ कलाकारका १८, वास्तुकला तथा लोककलाका ८४ कलाकारका ८८, शिल्प–हस्तकलाका ७४ कलाकारका ७९, बहुआयामिक तथा अन्य सिर्जनात्मक कलाअन्तर्गत छविकलाका ४५ कलाकारका ५९, प्रतिस्थापन कलाका ९ कलाकारका ९, कार्टुनका १३ कलाकारका १४, क्यारिकेचरका ३ कलाकारका ३, डिजिटलका १ कलाकारको १, भावभङ्गी कलाका २ कलाकारका २ कलाकृति प्रदर्शनीमा रहने छन् ।
सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले यस वर्षको प्रदर्शनीमा नेपालका सीमान्तकृत, अल्पसङ्ख्यक समुदायदेखि लोपोन्मुख तथा प्रचलित विविध विधाका कलाकृति समेटिने बताउनुभयो ।
उहाँले यस वर्षको समाज रूपान्तरणमा ललितकलाकर्मीले भूमिका खेल्नुपर्ने धारणा राख्नुभयो । प्राज्ञसभा सदस्य तथा प्रदर्शनीका क्युरेटर प्रदीप शाक्यले २०८० र २०८१ को प्रदर्शनी ‘सामाजिक रूपान्तरणः ललितकलाको अभियान’ भावमा समर्पित रहेको र अहिलेको प्रदर्शनी पनि सो भावनालाई आत्मसाथ गरिएको बताउनुभयो ।
अरनिको सम्मान शाह र लामालाई
यसवर्ष ‘अरनिको ललितकला राष्ट्रिय प्रज्ञा सम्मान’ अग्रज कलाकारहरू डा. सीमा शर्मा शाह र मङ्गल लामालाई प्रदान गरिन पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । उक्त पुरस्कारको राशि जनही रु १ लाख ५० हजार र सम्मानपत्र रहेको छ ।
राष्ट्रिय ललितकला लेखन पुरस्कार सरोज बज्राचार्य, राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कार क्रमशः गोरखापत्र दैनिक र नेपाल टेलिभिजनका शिवा तामाङ र हेमन्त गौतमलाई प्रदान गरिने भएको छ । ललितकला लेखन पुरस्कारको राशि रु ६० हजार र सम्मानपत्र तथा ललितकला पत्रकारिता पुरस्कारको राशि रु ३०/३० हजार र सम्मानपत्र रहेको छ ।
ललितकला प्रवद्र्धन सम्मान भने नेपाल हस्तकला महासङ्घ र प्रतिमा पाण्डेलाई प्रदान गरिने छ ।
भिडिओ:
https://www.facebook.com/samriddhisanchar/videos/1851312585713427
सर्वोत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार डङ्गोललाई
सर्वोत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार विनम्र डङ्गोल (परम्परागत चित्रकला)लाई प्रदान गरिने भएको छ । यस पुरस्कारको राशि १ लाख र सम्मानपत्र रहेको प्रतिष्ठानले जनाएको छ ।
राष्ट्रिय ललितकला पुरस्कार समसामयिक चित्रकलातर्फ कृष्ण लामा, समसामयिक÷आधुनिक मूर्तिकलातर्फ चन्द्रमणि मगर, परम्परागत चित्रकलातर्फ शंकरकुमार जोशी, परम्परागत मूर्तिकलातर्फ सुरेश लवट तुलाधर, शिल्प–हस्तकलातर्फ राजकुमार शिल्पकार, वास्तुकला तथा लोककलातर्र्फ ज्योतिकुमारी सापकोटा, बहुआयामिक तथा अन्य सिर्जनात्मक कलाअन्तर्गत फोटोग्राफीतर्फ सफल प्रकाश श्रेष्ठलाई प्रदान गरिनेछ । यस पुरस्कारको राशि रु ६० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ ।
राष्ट्रिय ललितकला नवप्रतिभा पुरस्कार भीमबहादुर विकलाई प्रदान गरिने छ । यस पुरस्कारको राशि रु ६० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ । प्रादेशिक ललितकला नवप्रतिभा पुरस्कार कोसीबाट भावना गुरुङ, मधेसबाट निरुपम जयसवाल, बाग्मतीबाट सुप्रिना घलान, गण्डकीबाट धावा दोर्जे गुरुङ, लुम्बिनीबाट रुकैया वानु, सुदूरपश्चिमबाट निशान्त सुनारलाई प्रदान गरिने छ । यस पुरस्कारको राशि ३० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ ।
भिडिओ:
https://www.facebook.com/samriddhisanchar/videos/1064424355609860
प्रादेशिक उत्कृष्ट ललितकला पुरस्कार क्रमशः कोशीबाट ङावाङ छिरि शेर्पा (परम्परागत चित्रकला), मधेसबाट सोनाम सिंह भ्लोन (हस्तकला) बागमतीबाट रीना शाक्य (परम्परागत चित्रकला), गण्डकीबाट दलबहादुर गुरुङ (समसामयिक चित्रकला), लुम्बिनीबाट लिलाधर केसी (समसामयिक चित्रकला), कर्णालीबाट कुमारी सिता मल्ल (समसामयिक चित्रकला), सुदूरपश्चिमबाट रमेश कडायत (समसामयिक चित्रकला) लाई प्रदान गरिने छ । यी सम्पूर्ण पुरस्कारको राशि ५० हजार र सम्मानपत्र रहेको छ ।
अघिल्लो वर्षबाट सुरु गरिएको ‘सहिद कलाकार अनिल लामा स्मृति (ललितकला) पुरस्कार २०८१’ कलाकार अस्मिना रञ्जित र ‘सहिद कलाकार बाबुराम लामा स्मृति (ललितकला) पुरस्कार २०८१’ गंगाधर सारुलाई प्रदान गरिने छ । उक्त पुरस्कारको राशी रु ५०÷५० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ ।
जेठ ३० गतेसम्म चल्ने प्रदर्शनीको प्रवद्र्धकका रूपमा नेपाल पर्यटन बोर्ड रहेको छ ।
