काठमाडौँ : गृहमन्त्री रमेश लेखकले जीवनमा कुनै एउटा मात्रै आर्थिक अनियमितता गरेको प्रमाणित गरे राजनीति नै छोड्ने बताएका छन्।
सिंहदरबारमा शनिवार साँझ सञ्चारकर्मीसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्। उनले आफ्नो विरुद्धमा नियोजित र षड्यन्त्रमूलक ढंगबाट झूटो प्रचारबाजी भइरहेको बताए। उनले त्रिभुवन अन्ताराष्ट्रिय विमानस्थलको अध्यागमनको भिजिट भिसाको विषय मात्रै नभई आफ्नो सार्वजनिक र राजनीतिक जीवनमा एउटा मात्रै आर्थिक अनियमितता गरेको कसैले प्रमाणित गरे पदबाट मात्र नभई राजनीति नै छोड्ने बताए।
आफूविरुद्ध प्रश्न उठेकाले १३ गतेको प्रतिनिधसभामा पूरा जानकारी गराउने बताए। गृह मन्त्रालय लाखौँको संख्यामा कर्मचारी रहेको र कर्मचारीमाथि प्रश्न उठ्दा मन्त्रीहरूले राजीनामा दिँदै जान सम्भव नरहेको स्पष्ट पारे।
गृहमन्त्री लेखकले भने, ‘मेरा विरुद्ध नियोजित र षड्यन्त्रमूलक ढंगबाट झूटो प्रचारबाजी भइरहेको छ। त्रिभुवन अन्ताराष्ट्रिय विमानस्थलको अध्यागमनको भिजिट भिसाको विषय मात्रै होइन। मेरो सार्वजनिक जीवनमा, राजनीतिक जीवनमा एउटा मात्रै पनि मैले आर्थिक अनियमितता गरेको प्रमाणित भयो भने म पदबाट होइन, राजनीतिबाट राजीनामा दिन्छु।’ गृहमन्त्री लेखकले आफ्ना विरुद्ध राजनीतिक, नियोजित, षड्यन्त्रमूलक ढंगबाट झूटो प्रचारबाजी भइरहेको तर्क गरे।
विगतमा आफूले बोलेको दृष्टान्त पेश गर्दै आजै रास्वपाले उनको राजीनामा समेत मागेको छ ।
अध्यागमन कार्यालयको घटनासँग गृहमन्त्री जोडिएका छैनन् : गृह मन्त्रालय
गृह मन्त्रालयले विगत केही दिनयता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको घटनासँग मन्त्रालयको नेतृत्वलाई जोडेर विभिन्न पत्रपत्रिका तथा सामाजिक सञ्जालमा आएका समाचार एवम् क्रियाप्रतिक्रियाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मन्त्रालयले आज साँझ एक विज्ञप्ति जारी गरी यस प्रकारका कपोलकल्पित, भ्रामक र आधारहीन समाचार प्रकाशित र प्रसारित भएको प्रति दुःख व्यक्त गरेको छ ।
मन्त्रालयका सहसचिव छवि रिजालले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको, “यस्ता कुनै पनि गैरकानूनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको र नरहने विषय स्पष्ट गर्दछौँ साथै, विषयको गम्भीरतालाई मध्यनजर गरी सत्यतथ्य विषयवस्तु मात्र प्रकाशन र प्रसारण गरिदिनु हुन सबैमा अनुरोध गर्दछौँ ।”
मुलुकमा शान्ति सुरक्षा, अमनचयन तथा सुशासन कायम गर्नका लागि गृह प्रशासन निरन्तर क्रियाशील रहेको उल्लेख गर्दै मन्त्रालयले सबै प्रकारका अनियमितता र अपराधका घटनामा शून्य सहनशीलताको नीति अबलम्बन गर्दै गृह प्रशासनलाई व्यवस्थित गर्नका निम्ति नीतिगत तथा संस्थागत सुधारका कार्यहरूसमेत गर्दै आइरहेको जानकारी गराएको छ ।
विज्ञिप्तिमा भनिएको छ, ‘पछिल्लो समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको काम काराहीका सम्बन्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको हुँदा अनुसन्धान कार्य पूरा भएपछि सत्यतथ्य व्यहोरा सबैको जानकारीमा आउने नै छ । आयोगबाट हुने छानबिन तथा अनुसन्धानसम्बन्धी कार्यमा मन्त्रालयको पूर्ण सहयोग रहने व्यहोरासमेत जानकारीका लागि अनुरोध छ ।’
