काठमाडौँ, ९ जेठ : नेपाली ललितकलाको महाउत्सव मानिने यसपालिको राष्ट्रिय ललितकला प्रदर्शनीमा कलामा विविधता दिने प्रयास गरिएको छ ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान नक्सालमा यही जेठ १५ गतेदेखि ३० गतेसम्म आयोजना हुने प्रदर्शनीमा सातै प्रदेशका विविधता झल्किने गरी प्रदर्शनी गर्ने अन्तिम तयारी भइरहेको प्रदर्शनी संयोजक, प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नेपालमा अभ्यासमा रहेका रैथाने कलादेखि अहिलेका समसामयिक कलालाई एकै ठाउँमा राखेर प्रदर्शनी हुँदैन ।”

पहिलो अभ्यासका रुपमा यसपटक हरेक प्रदेशको छुट्टाछुट्टै ग्यालरीमा कला प्रदर्शनी हुने छ । जसबाट प्रदेशको कला अवलोकनका साथै अध्ययन पनि गर्न सकिने छ । प्रदर्शनीमा करिब ६०० कलाकारका ६५० हाराहारीका कलाकृतिहरु समावेश गरिने छ ।
राष्ट्रिय प्रदर्शनीको पूर्वसन्ध्यामा यसअघि फागुनमा सातै प्रदेशमा कला प्रदर्शनी गरिएको थियो । त्यहाँ कलाकारका १ हजार कलाकृति समावेश थियो । ती कलाकृतिबाट छनोट भएका ५०० कलाकृति र आमन्त्रित कलाकारका कलाकृति गरी ६०० हाराहारीमा कला प्रदर्शनी हुने प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले बताउनुभयो ।
सातै प्रदेशममा अभ्यासमा रहेका कलाहरु यहाँ समावेश गरिने छ । कलामा विविधता बनाइने छ । नेपालमा आफैँमा विविधतायुक्त मुलुक हो । त्यसैलाई प्रतिनिधित्व हुने गरी नेपालका कलाको विविधता प्रदर्शनीमा देख्न पाइने प्रतिष्ठानले जनाएको छ ।
“लोककला हस्तकलामा पनि समुदायगत, जातिगत, भौगोलिक क्षेत्रीय हिसाबले पनि कलामा विविधता बनाउँदै छौँ, मौलिक शिल्प ज्ञानहरु हुनेछन् । त्यो साङ्केतिक रुपमा पनि यहाँ हेर्न पाइन्छ । दैनिक जीवनमा प्रयोग हुने सामानहरु छन्”, सदस्यसचिव काफ्लेले भन्नुभयो, “यसलाई हामीले पुनर्जागरणको चरण भनेका छौँ । नेपालका लोपोनमुख कतिपय लोककला, हस्तकला, शिल्प हस्तकलाहरु देख्न पाइन्छ । राउटेदेखि मधेशका डोम समुदायले बनाउने कलाहरु समावेश हुने छन् ।”
प्रदर्शनीमा समसामयिक चित्रकला, मूर्तिकला, समसामयिक पक्षलाई उठाइएका आधुनिक पक्षलाई उठाइका कलाहरु (लोककला, परम्परागत कला, शिल्प हस्तकला), विश्वमा चलेका न्यु मिडियासँग सम्बधित (बहुआयामिक तथा सिर्जनात्मक कला) वास्तुकलालगायतका कलाहरु प्रदर्शनीमा राख्ने जमर्काे गरिएको छ ।
नेपाल ललितकला कलाको समपुरक अर्थले समावेशी बनाउँदै ललितकलालाई जनसाधारिकरण गर्नु प्रदर्शननीको मुख्य उद्देश्य रहेको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, “भोक सोख र लोकलाई सन्तुलन मिलाउँदै लोक र भोकलाई सोखमा जोड्नका लागि प्रयार हुनुपर्छ । कलाको पहिचान स्थानीय, राष्ट्रिय अन्तरराष्ट्रिय पहुँचमा पुर्याउँदै अर्थतन्त्रमा योगदान दिने उद्देश्य हो, विगत वर्षदेखि सातै प्रदेशका लुकेका कलालाई उजागर गर्दै प्रदर्शनी भइरहेको छ, त्यसले कलामा एउटा जागरण पैदा गर्न सफल भएको छ ।”
सबै तह र तत्काका व्यक्तिहरुलाई प्रदर्शनी अवलोकनमा सहभागी गराउने कोशिष रहेको पनि उहाँले बताउनुभयो ।
प्रदर्शनी सफल बनाउन प्रतिष्ठानका उपकुलपति लालकाजी लामाको संयोजकत्वमा मुल समिति र अन्य सातवटा उपसमिति गठन गरिएको । यसपालि प्रदर्शनीअन्तरगत साँस्कृतिक संस्थानसँगको सहकार्यमा सांगीतिक प्रस्तुति । नेपाल प्रज्ञा प्रतिषठनको सहकार्यमा साहित्यिक प्रस्तुति समेत रहने गरी कार्यक्रम तयार पारिएको छ । प्रदर्शनीले आगामी दिनमा कलाप्रतिको जागरणमा सघाउ पुर्याउँछ भन्ने विश्वास रहेको छ ।
प्रदर्शनी अनतरगत गत वर्ष जस्तै राष्ट्रिय, प्रादेशिक तथा नवप्रतिभा र विधागत पुरस्कारहरु पनि प्रदान गरिने छ । यसका साथै २ जनालाई विशेष सम्मानका रुपमा अरनिको सम्मान, कला प्रवद्र्धक तथा शहिदहरुको स्मरणमा पुरस्कार तथा सम्मान, कला लेखक तथा पत्रकार र सहयोगी संस्थाहरुलाई पनि पुरस्कार तथा सम्मान प्रदान हुने छ ।
प्रदर्शनीले नेपाली कलामा गर्नुपर्ने चिन्तन, विचार र शैलिगत कुरालाई सम्बोधन गर्ने विवास गरिएको प्रतिष्ठाने जनाएको छ ।
“हामी कहाँ छौँ भन्ने बुझिन्छ, यसले नेपाली मौलिकताको वस्तुस्थितिसहित प्रवद्र्धन गर्छ र रोजगारीलाई पनि सहयोग गराई अर्थतन्त्रलाई प्रत्यक्ष प्रत्यक्ष रुपमा सहयोग गर्छ”, सदस्यसचिव थुम्केलीले भन्नुभयो ।
प्रदर्शनीले कलालाई आन्तरिक प्रवद्र्धन गरे आर्थिकरुपमा पनि योगदान दिन सकिन्छ भनेर जग निर्माण भएको र आर्थिक समृद्धिका लागि कला पनि महत्वपूर्ण हो भन्ने कुरा स्थापित हुँदै गएको तथा कलाप्रतिको सचेतना पनि बढाउँदै गएको प्रतिष्ठानले जनाएको छ ।