काठमाडौँ, ३ जेठ : विपदका घटनामा परेर पछिल्लो २४ घण्टामा देशभर ४ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।
प्रिमनसुनका समयमा भएको मौसम बदलीपछि आएको हावाहुरी, बाढी, पहिरोलगायतका विपदजन्य घटनाबाट ५० जिल्ल प्रभावित भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार हावाहुरीका कारण मात्रै ४ जनाको मृत्यु र २१ जना घाइते भएका छन् ।
चट्याङबाट २, जनावरको आक्रमणबाट ४ र लेक लागेर १ जना घाइते भएका छन् । हिजोदेखि आजको २४ घण्टाको अवधिमा ५० जिल्लामा ९४ वटा विपदका घटना भएको पनि उहाँले बताउनुभयो ।
ती घटनाहरुबाट एक करोड ८ लाखको अनुमानित आर्थिक क्षति भएको प्राधिकरणले जानकारी गराएको छ । ती घटनाबाट २ वटा पशु चौपायसमेत मरेको छ ।

प्राधिकरणबाट प्राप्त विवरणमा सबैभन्दा बढी हावाहुरीका ५९ र आगलागीका १६ वटा घटना भएको छ । अन्यमा चट्याङ, पहिरो, बाढी, अविरल वर्षाका घटना भएका छन् ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशका केही स्थानहरूमा गर्मीका कारण तथा थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको अवस्था रहेको छ ।
हिजोको तुलनामा आज भने केही मौसम खुले पनि बदली भने कायम नै रहेको छ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ ।
साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेका जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आगामी २४ घण्टा केही स्थानहरूमा गर्मीका कारण तथा थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने जनाइएको छ ।