काठमाडौँ २ जेठ : नेपालमा काठमाडौँ उपत्यकासहित विभिन्न क्षेत्रमा आज हावाहुरीसहितको वर्षा भएको छ । हावाहुरीका कारण जनधनको क्षतिसमेत भएको छ ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले नवलपरासी कञ्चनपुर, कैलाली, चितवन, उदयपुर, सङ्खुवासभा, बारा, कपिलवस्तुलगायत जिल्ला प्रभावित भएको बताउनुभयो ।
उहाँका अनुसार हावाहुरी र वर्षाका कारण केही जिल्लामा मानवीय क्षति र भौतिक सम्पत्तीमा समेत क्षति भएको छ । अहिले साँझसम्म प्राप्त विवरणमा २ जनाको मृत्यु भएको र ७ जना घाइते भएको जानकारी प्राप्त भएको पनि उहाँले बताउनुभयो । यस्तै कैलालीमा पनि १ जनाको मृत्यु भएको छ ।
उहाँले नवलपरासी पश्चिममा हावाहुरीका कारण रुख ढल्दा २ जनाको मृत्यु भएको जानकारी दिनुभयो । उहाँले बारामा १, कैलालीमा २ , कञ्चनपुरमा १ र नवलपरासीमा ३ जना घाइते भएका पनि जानकारी दिनुभयो । चितवमा हिजो हावाहुरीले ठूलो क्षति गराएको छ ।
भोलि पनि वर्षा तथा हावाहुरी ल्याउने प्रणाली कायम रहेको र उक्त प्रणाली पूर्वतर्फ सरिरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो ।
अहिले भने कोशी, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशमा बदली भएको र ती प्रदेशका केही ठाउँमा वर्षा भइरहेको छ ।
प्राप्त विवरण अनुसार पछिल्लो १२ घण्टामा पर्वतमा ४३.८, धादिङ ३७, म्याग्दी ३०.२ गोरखामा ३१.६, काभ्रे २९, स्याङ्जामा ३० र काठमाडौँको बूढानीलकण्ठ क्षेत्रमा १५.६ मिलिमिटर वर्षा भएको छ ।
काठमाडौँमा भोलि अपरान्हतिर आजको जस्तै बदली हुने सम्भावना रहेको पनि महर्जनले जानकारी दिनुभयो ।