कालिका । चितवनको कालिका नगरपालिका एकपछि अर्को नयानयाँँ कार्यक्रम सञ्चालन गर्दै स्थानीयको क्षमता विकास, शैक्षिक विकास तथा आयआर्नजनका काममा सक्रिय भएको छ ।
हिजोमात्रै डिजिटल शिक्षण सिकाई प्रभावकारी बनाउन पहाडी क्षेत्रका विद्यालयलाई कम्प्युटर सहयोग गरेको छ । यहाँको पहाडी क्षेत्रमा प्राय अति सिमान्तकृत चेपाङ समुदायको बसोबास छ ।
आर्थिक वर्ष २०८१/०८२ को बजेटबाट सामुदायिक विद्यालयहरुमा कम्प्युटर र प्रिन्टरको अभावमा डिजिटल शिक्षण सिकाईमा समस्या र्भरहेका कालिका ९, १० र ११ का १३ वटा विद्यालयलाई १र१ थान गरी १३ थान कम्प्युटर सहयोग गरिएको नगरपालिकाका प्रमु विनोद रेग्मीले जानकारी दिनुभयो ।
उहाँका अनुसार राष्ट्रिय आधारभूत विद्यालय दौतेस, राष्ट्रिय आधारभूत विद्यालय छेरवाङ, महाकाली आधारभूत विद्यालय कोलार, कालिका आधारभूत विद्यालय निबुवाटार, आधारभूत विद्यालय लोतन्ति, दक्षिणकाली आधारभूत विद्यालय बाङखोला, राष्ट्रिय आधारभूत विद्यालय लटौली, चित्राम राष्ट्रिय आधारभूत विद्यालय, राष्ट्रिय आधारभूत विद्यालय देउजर, राष्ट्रिय आधारभूत विद्यालय सुपार, शुभशान्ति राष्ट्रिय आधारभूत विद्यालय सैपाम, राष्ट्रिय आधारभूत विद्यालय कल्याणचौरलाई १र१ थान कम्प्युटर हस्तान्तरण गरिएको हो ।
नगर प्रमुख रेग्मीले बालबालिका विद्यालय पुर्याउनु मात्र दायित्व होइन, विद्यालयलाई उपयुक्त शिक्षा दिलाउन सक्ने व्यवस्थापन गर्ने दायित्व पनि हामी सबैको रहेको बताउनुभयो ।
यसअघि कालिका नगरपालिका वडा नम्बर ४ को आयोजनामा सञ्चालित २० दिने वारिष्टा (कफी बनाउने) तालिम पनि दिइएको थियो ।
“सिप सिकौं, स्वरोजगार बनौं” भन्ने नारासहित वडा नं ४ को कार्यालय भवनमा एक कार्यक्रम आयोजना गरी तालिम दिइएको थियो ।

सडक विस्तार निर्माण ढल निकासमा पनि कालिकाले काम गरिरहेको छ । कालिकाका साँघुरा बाटालाई दायँ वायाँ थपेर पीच गरी सडक फराकिलो बनाइएका छन् ।
अब कालिकाले मापदण्ड विपरितका सडक पेटी तथा पसलहरुमा राखिएका समाग्री तथा होडिङबोर्ड हटाउने भएको छ।
त्यसका लागि यही वैशाख १७ गतेदेखि लागू हुनेगरी ७ दिनको सूचना जारी भएको छ ।
कालिका नगरक्षेत्र भित्र व्यवसाय सञ्चालन गरिरहनु भएका व्यवायीहरुले आफ्नो पसल अगाडि सडक मापदण्ड क्षेत्र भित्र पर्ने सडक पेटीको दायाँबायाँ सामग्रीहरू राख्ने गरेको तथा पसलहरुमा राखिएका होडिङबोर्डहरु नगरपलिकाले तोकेको मापदण्डभन्दा फरक राखेको भन्ने ब्यापक जनगुनासो प्राप्त भएकोले सूचना प्रकाशन गरिएको नगरपालिकाले जनाएको छ।