काठमाडौँ, १० वैशाख : जल तथा मौसम विज्ञान विभागले तराईका क्षेत्रमा आगामी २ दिन अत्याधिक गर्मी हुने सम्भावना रहेकाले सावधानी अपनाउन अनुरोध गरेको छ ।
विभागको मौसम पूर्वानुमान महाशाखाले आज राति तातो हावाको लहरसम्बन्त्री विषेश बुलेटिन जारी गर्दै उक्त सावधानी अपनाउन सबैमा अनुरोध गरेको हो ।
विभागले भनेको छ, ‘आगामी दुई दिनसम्म मधेश प्रदेशलगायत बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरूमा अत्याधिक गर्मीको सम्भावना देखिएकोले आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउनहुन अनुरोध छ । लुम्बिनी प्रदेशका तराईका भू–भागहरूमा आगामी २ दिन तातो लहरको समेत सम्भावना रहेको हुनाले सो को असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’
जारी विशेष बुलेटिनमा लुम्बिनी प्रदेशका तराई भू–भागका थोरै स्थानहरूमा बिगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको उल्लेख छ।
साथै मधेश प्रदेशलगायत बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरुमा ३८ डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको जनाइएको छ।
सम्भावित असर
विभागले तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरु जस्तैः थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकोले सो बाट बच्न निम्न उपायहरु अपनाउन हुन अनुरोध गरेको छ ।
सावधानीका उपाय
तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घर भित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने (घाममा बढी भ्हउयकभ नहुने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित ( पटक–पटक पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मी संग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत अनुरोध गरिएको छ ।।
यस महाशाखाबाट दैनिक जारी हुने मौसम पूर्वानुमान बुलेटिनमा समेत सोही अनुसार नियमित रूपमा अद्यावधिक गरिने भएकाले सम्पूर्णलाई अद्यावधिक मौसमी सूचनाको जानकारी लिन हुन समेत अनुरोध गरिएको छ ।
