काठमाडौँ, ७ वैशाख : नेपाल प्रहरी जवानको परीक्षामा संलग्न रहेका ६ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराका अनुसार काठमाडौँ महानगरपालिका १० स्थित रत्नराज्य मावि नयाँबानेश्वरमा नेपाल प्रहरी प्रधान कार्यालय नक्साल, काठमाडौँद्वारा प्रकाशित विज्ञापन अनुसार सञ्चालित प्रहरी जवान पदको लिखित परीक्षामा अन्य व्यक्तिको नाममा परीक्षा दिईरहेका उनीहरुलाई पक्राउ गरिएको हो ।
उनीहरुलाई आज काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति प्राप्त गरी अनुसन्धान थालिएको प्रवक्ता बोहराले जानकारी दिनुभयो ।
पक्रमा पर्नेमा दोलखा, जिरी नगरपालिका ९ घर भई काठमाडौँको बालाजु बस्ने २३ वर्षका मोअन सुनुवार कालिकोटको शुभकालिका गाउँपालिका ७ घर भई हाल लैनचौर बस्ने २४ वर्षका गोपाल शाही र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ५ घर भई हाल काठमाडौँको माछापोखरी बस्ने २२ वर्षका मनोज शर्मा रहेका छन् ।
यस्तै अन्य पक्राउ पर्नेमा दैलेख, भैरवी गाउँपालिका ५ घर भई हाल बानेश्वर बस्ने वर्ष २२ का आकाश खड्का सुर्खेतको वीरेन्द्रनगर ११ घर भई हाल माछापोखरी बस्ने २० वर्षका उमेश शर्मा र जुम्लाको तिला गाउँपालिका २ घर भई हाल बालाजु बस्ने वर्ष २२ का मिन रावल रअेका प्रहरीले जानकारी दिएको छ ।
उनीहरुको साथबाट अर्काको फोटो टाँस गरेको सक्कल प्रवेश पत्रहरु र नागरिकताको प्रतिलिपीहरु बरामद गरिएको जनाइएको छ ।