काठमाडौँ : आइतवारदेखि सुरु हुने आइसिसी यू–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोटको ट्रफी सार्वजनिक गरिएको छ। खेलको पूर्वसन्ध्यामा आज काठमाडौँमा नेपाल क्रिकेट सङ्घ (क्यान) द्वारा आयोजित पत्रकार सम्मेलनमार्फत ट्रफी सार्वजनिक गरिएको हो।
ट्रफीलाई नेपाली यू–१९ पुरुष क्रिकेट टोलीका कप्तान नरेन भट्टसहित युएई, ओमान, अफगानिस्तान र हङकङका कप्तानहरूले संयुक्त रूपमा सार्वजनिक गरेका हुन्।
पत्रकार सम्मेलनमा नेपालका कप्तान भट्टले नेपालको टोली सन्तुलित रहेको बताउँदै आफूहरूले राम्रो प्रदर्शन गर्ने बताए। युएई, ओमान, अफगानिस्तान र हङकङका कप्तानहरुले पनि मैदानमा राम्रो प्रदर्शन गर्ने जिकिर गरेका छन्।
आइतवारदेखि सुरु हुने खेल आगामी वैशाख ६ गतेसम्म सञ्चालन हुनेछन्। खेलहरू माथिल्लो र तल्लो मूलपानी अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुनेछन्। घरेलु टोली नेपालले पहिलो खेलमा आइतवार युएईसँग प्रतिस्पर्धा गर्नेछ।
नेपाली टोलीमा भट्टको कप्तानीमा अभिषेक तिवारी, निरज के यादव, साहिल पटेल, सिब्रिन श्रेष्ठ, रोशन विश्वकर्मा, दर्श सोनार, दिलसाद अली रहेका छन्।
यस्तै, सन्तोष यादव, अशोक धामी, दयानन्द मण्डल, अपराजित पौडेल, युवराज खत्री, बिपिनप्रसाद शर्मा पनि टोलीमा अटाएका छन्।