काठमाडौँ, २७ चैत : गएको मनसुन पछि नेपालमा राम्ररी वर्षा हुन सकेको छैन ।
जल तथा मौसम विज्ञान विभागका अनुसार मौसम केन्द्रहरुबाट प्राप्त तथ्याङ्गले यही चैत ९ र १० (मार्च २२ र २३) गते देशका अधिकांश भू–भागमा हल्कादेखि मध्यम वर्षा भएकोमा तत्पश्चातको अवधिमा पर्याप्त वर्षा हुन सकेको छैन ।
पश्चिमी वायुको प्रभाव ज्यादै कमजोर रहेकाले विगत लामो समयदेखि देशभर पर्याप्त वर्षा नभएको तथा तापक्रममा वृद्धि हुँदा वायुमण्डल सुख्खा रहेको विभागकी प्रवक्ता विभूती पोखरेलले बताउनुभयो ।
जसको फलस्वरूप तुवालोको प्रभावले वायुमण्डलको पारदर्शिता (ख्ष्कष्दष्ष्तिथ) समेत न्यून हुन गई हालको वायु प्रदूषणलाई थप जोखिमयुक्त अवस्थामा पुर्याउन भूमिका खेलेको उहाँले बताउनुभयो ।
अहिले अप्रिल महिनाको जलवायु अँकलन अनुसार सरदर (५८.७ मि.मि.) वा सरदरभन्दा कम वर्षा हुन सक्ने संभावना रहेको विभागले जानकारी दिएको छ ।
यही चैत २८ सम्म देशका पहाडी क्षेत्रहरुमा वर्षाको सम्भावना भए पनि ठूलो वर्षा नहुने र देशभरको मौसममा अपेच्छित सुधार हुने अवस्था नदेखिएकाले मौसमसम्बन्धी जानकारी अध्यावधिक हुन तथा आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अपिल गरेको छ ।
यस वर्ष मनसुनपश्चात पोष्ट–मनसुनको अवधि (अक्टोभरदेखि नोभेम्बर २०२४) मा देशभर सरदर (६४.० मि.मि.) भन्दा १९.६४ प्रतिशत न्यून वर्षा भएको छ । तापक्रम पनि सरदर (२०.१ डिग्री सेल्सियस) भन्दा ०.७ डिग्री बढी रहेको विभागले जनाएको छ ।
त्यसैगरी हिउँद अवधि (डिसेम्बर २०१४ देखि फेब्रुअरी २०२५) मा देशभर सरदर (६०.४ मि.मि.) भन्दा ७९.४४ प्रतिशत न्यून वर्षा भएको र तापक्रम सरदर (१३.५ डि.से) भन्दा ०.५ डिग्री बढी रहेको विभागले जानकारी दिएको छ ।
गएको मार्च महिनामा समेत देशभरको सरदर वर्षा (३२.२ मि.मि) मा २९.५४ प्रतिशत कमी आएको तथा तापक्रममा सरदर (१८.८ डिग्री) भन्दा ०.८. डिग्री बढी मापन भएको विभागले जनाएको छ ।