-नारायण ढुंगाना,
काठमाडौँ, २३ चैत : ‘सामुहिकतामा ठूलो बल हुन्छ’ नेपालका पाँच महिला कलाकारले यही कथनलाई आफ्ना कलामार्फत चरितार्थ गर्नुभएको छ ।
काठमाडौँको बबरमहलस्थित नेपाल कला परिषद्मा पाँचजना महिला कलाकारको संयुक्त कला प्रदर्शनीमा समावेश कलाहरुले महिला एकताको गहिरो सन्देश दिएको छ।
उहाँहरुले क्यानभासमा उतार्नुभएका सिर्जनाले महिलाको कलात्मक शक्ति स्पष्ट दर्शाउँछ । ‘टुगेदरनेस’ शीर्षकमा सुरु भएको कला प्रदर्शनी हेर्ने कला पारखीहरुले महिला कलाकारको कुची निकै सबल रहेको भन्दै प्रशंसा गरे ।
महिलाका हातहरु घर धन्दा र घर व्यवहारमा मात्र हैन कुचीमा पनि बलियोसँग चल्दै समाज परिवर्तनमा भूमिका खेल्न सकिने कलामा औँल्याइएको छ । कलाकारहरु कृति शाह चन्द, कीपा राणा, पूजा अग्रवाल, सन्ध्या सिंह महर्जन र सगुन शाह सिंहका कलात्मक सिर्जनाले कला पारखीलाई बबरमहको नेपाल कला परिषदमा तानेको छ ।
कला पारखीले चैत २५ गतेसम्म पाँच महिला कलाकारका आकर्षक सिर्जनाको स्वाद लिन पाउनेछन् ।
कृति शाह ‘चन्द’
पाँच कलाकारमध्येकी एक कलाकार कृति शाह ‘चन्द’का मूर्त र अमूर्त दुवैथरी कला सशक्त छन् । उहाँका आरोह–अवरोह शीर्षकको अमूर्त कलाले मानवीय जीवनका उतारचढावलाई उधिनेको छ ।
उहाँले भन्नुभयो, “मान्छेको जीवनमा सुख, दुखसहितका उतारचढाव आइरहन्छ, त्यसलाई आत्मसाथ गर्दै अघि बढ्नुपर्छ भन्न खोजेकी हुँ ।”
कतिपय कुराहरु आफ्नै जीवनमा भोगेका अनेक परिस्थितिलाई कुचीमार्फत क्यानभासमा पोखेको उहाँले सुनाउनुभयो । उहाँको पारसमणी, अटुमन लभ, शान्तिको प्रतिक स्वयम्भूनाथ लगातका कला उत्कृष्ट छन् । विश्वशान्तिको प्रतिक स्वयम्भूनाथ र जोडी परेवाको उडानले नेपाल र विश्वमै शान्तिको सन्देश छर्न सफल भएको छ ।

कीपा राणा
अर्की कलाकार कीपा राणाले भने दैविशक्तिको सशक्त धारलाई आफ्नो क्यानभासमा स्वरुप दिनु भएको छ ।
देवहरुको पनि देव मानिने भगवान शिवमाथिको आफ्नो अपार विश्वासको परिकल्पनालाई कलामार्फत सार्थक बनाएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बालखैदेखि म शिवजीको भक्त हुँ, उहाँको सबै स्वरुपहरु चित्ताकर्षक लाग्छन्, त्यही समर्पण भावलाई कलामा समेटेको छु ।”
शिवजीको जटा र त्यहाँबाट बगिरहेको पानीरुपी गंगालाई विभिन्न रङहरुमा समाहित गर्दै अलौकिक भावहरुका सुन्दर शिवाकृति मनोहर देखिन्छन् ।

सन्ध्या सिंह महर्जन
पौभा कलालाई मूलधारमा समेट्दै अघि बढ्नु भएकी कलाकार सन्ध्या सिंह महर्जनका कलाहरु अब्बल छन् । नेपाली कलाको धरोहर मानिने लोककला विधाको पौभामा सानदार देखिएका छन् ।
उहाँले भन्नुभयो, “सहस्रभुज लोकेश्वरको पौभा बनाउन मलाई साढे दुई वर्ष लाग्यो अनि महाकालको अर्को पौभा कला बनाउन दुई वर्ष लाग्यो ।”
पौभामा कुँदिएका उहाँका रङहरुको आभा हेरेर पारखीहरु पनि दङ्ग भए । उहाँको कलाको अर्को आकर्षण न्यूड आर्ट पनि हो । जसमा उहाँले एउटी महिलाभित्रको सरल स्वभाव दिनचर्याहरुलाई समेट्नु भएको छ ।

पूजा अग्रवाल
चितवनकी कलाकार पूजा अग्रवालका कला भने यथार्थ वा भ्रमको परिकल्पनाका आधारमा सिर्जना गरिएका छन् ।
उहाँले भन्नुभयो, “रियल लाइफमा हामीले भगवानको स्वरुप देखेका छैनौ र त्यो स्वरूप कस्तो हुन्छ भन्ने कल्पना अनि म सानो हुँदा मेरो आमाले मलाई सही र गलत को फरक एउटा सानो फूलको बिरुवाबाट बताउनुभएको कल्पना गर्दै क्यानभासमा उतारेकी छु ।”
उहाँ स्वाभावैले प्रकृति प्रेमी भएकोले ‘सूर्यको किरणमा रहेका फुलहरु’ भनेर प्रदर्शनीमा कला पस्कनु भएको छ ।

सगुन शाह सिंह
प्रदर्शनीमा सहभागी अर्की कलाकार सगुन शाह सिंहको कलामा पूर्वीय सभ्यतामा प्रथमपूज्य देव मानिने भगावन श्री गणेशका अनेक भावहरु समेटिएका छन् ।
कुनैमा मनमोहक गणेश, कुनैमा सौम्य गणेश, कुनैमा रङ्गीन स्वभावका गणेशका चित्र र चरित्रहरु क्यानभासमा सजिएका छन् । उहाँले सुनाउनुभयो, “सानैदेखि गणेश भगवानको व्रत बस्थे, गणेश भगवानप्रतिको मेरा लगाव नै चित्रहरुमा कुँदिएका छन् ।”

ललितकला गुठीको आयोजनामा सुरु भएको प्रदर्शनीले महिला कलाकारको सामुहिकता र कलाको निखारता दुबैलाई एकसाथ समेटेको गुठीका संस्थापक उत्तम डंगोलले औँल्याउनुभयो ।
नारी शक्ति पुरुष शक्तिभन्दा धेरै गुणा सशक्त रहेको टिप्पणी कला पारखीहरुले गर्नुभयो । महिलाको शारिरीक संरचना नै फरक हुने, महिनावारी बार्नु पर्ने, छोरा जन्माउँदा स्तनपान गराउनुपर्ने गुण नारीमा नै हुने भएकाले नारी पुरुषभन्दा धेरै सशक्त व्यक्तित्वको हुने बरिष्ठ कलाकार शशिविक्रम शाह बताउनुहुन्छ ।
महिलाहरुको संयुक्त प्रयासले समाजमा कलामार्फत गहन प्रभाव पार्न सकेको औँल्याउनुभयो । उहाँले भन्नुभयो, “संयुक्त प्रयास धेरै उपयोगी हुन्छ,, यस्तै संयुक्त प्रयास निरन्तर रह्यो भने समाज परिवर्तनमा ठूलो भूमिका खेल्छ ।”
वरिष्ठ साहित्यकार पद्मावती सिंहले पाँचै जना महिला कलाकारको संयुक्त प्रयासले कला पारखीको मन छुन सफल भएको औँल्याउनुभयो ।
उहाँले भन्नु भएजस्तै पञ्चकन्यारुपी महिलाका कलाले सशक्त सन्देश दिन सफल भएको प्रतिकृया दिनुभयो । प्रदर्शनीका क्युरेटर स्मृति कर्माचार्यले महिलाहरुलाई यसरी कलामार्फत अघि बढाउनका प्रेरित हुनु समाजकै लागि महत्वपूर्ण कुरा रहेको जानकारी दिनुभयो ।