काठमाडौँ, २० चैत : नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा आज बुधवारबाट अग्रज कलाकारहरुको सहभगितामा ‘अक्षरको यात्रा’ कला प्रदर्शनी सुरु भएको छ ।
नक्सालमा प्रदर्शनीको उद्घाटन गर्दै काठमाडौँ महानगरपालिका उपप्रमुख सुनिता डङ्गोलले नेपालका लिपिहरु हराइएकोमा चिन्ता प्रकट गर्दै त्यसको संरक्षण जरुरी रहेको बताउनुभयो ।
सो क्रममा उहाँले भन्नुभयो, “नेपालका विभिन्न लिपिहरू छन्, ती लिपिहरूलाई प्रदर्शनमा ल्याउन यस्ता प्रदर्शनीहरू एकदमै महŒवपूर्ण हुन्छन् । नेपालका धेरैभन्दा धेरै लिपि जुन हराइएका छन्, हराउने क्रममा छन्, ती लिपिहरूलाई अझै संवद्र्धन, प्रवद्र्धन गर्न यस प्रदर्शनीले भूमिका खेलोस् ।”
प्रदर्शनीमा राखिएका कलाकृतिमा क्रान्ति, स्नेह, भविष्य, इतिहास, वर्तमानका कुरा रहेको आभास आफूले पाएको बताउँदै उहाँले आर्ट गर्ने, इतिहास, लिपिसँग चासो राख्नेलाई समेट्दै जानुपर्नेमा जोड दिनुभयो ।
प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले अक्षर आफैँमा एक अक्षर मात्र नभएको र यसले भाव व्यक्त गर्ने तथा कलाको सौन्दर्यलाई प्रकट गर्ने बताउनुभयो ।
उहाँले अक्षरलाई रङ, रेखा र आकारसँग जोडेर विम्बिकरण गरी सूचना सम्प्रेषण गर्न सकिने र लालित्यको दृष्टिले पनि अक्षरलाई सम्बोधन गर्न सकिने बताउँदै यस कार्यक्रम सुरुवाती भएको र आगामी दिनमा अझ परिष्कृत रूपमा बढ्ने बताउनुभयो ।
प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले करिब ४ हजार वर्षअघि मेसोपोटामियामा विकास भएको ध्वनि प्रतीक चिह्न नै आजको लिपिको प्रारम्भिक रूप भएको बताउनुभयो ।
उहाँले नेपालका अन्य लिपिलाई समेत समेट्दै कार्यक्रमको अर्को संस्करण बृहत् बनाउने धारणा राख्नुभयो ।
बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारीले आजको युगमा अक्षरबिनाको केहीको कल्पना नै गर्न नसकिने बताउनुभयो ।
उहाँले भन्नुभयो, “आ–आफ्नो भाषासँग आ–आफ्नो लिपि हुन्छ । त्यही लिपिलाई कलाकारले आफ्नो भावना समेट्दै कलाकृति सिर्जना गर्नुभएको हो ।”
चैत २५ गतेसम्म चल्ने प्रदर्शनीमा नारदमणि हार्तम्छाली, किरण मानन्धर, के.के. कर्माचार्य, वत्सगोपाल वैद्य, मदन चित्रकार, राधेश्याम मुल्मी, लालकाजी लामा, पाल्साङ्मो लामा, सौरगंगा दर्शनधारी, दिनेश्वर महतो, संजय बान्तवा, अरुणा हिङमाङलगायतले सहभागिता जनाउनुभएको छ ।
यस्तै बुद्घि गुरुङ, धनबहादुर याख्या, सुन्दर सिंख्वाल, चन्द«कुमार राई, प्रद्युम्न श्रेष्ठ, हरिओम मेहता, भाइराजा महर्जन, किशोर नकर्मी, राजन महर्जन, जयशङ्करसन श्रेष्ठ, मनरा प्रजापति, विनिशा मल्ल, छिरिङ फोन्जो गुरुङ, कृष्ण लामा, आनन्दकुमार महर्जन, सर्जु कपाली, मनोरमा खत्री, केशवराज खनाल, पृथ्वी श्रेष्ठ, राजन काफ्ले, सागर मानन्धर, रुवी श्रेष्ठ, सम्झना राजभण्डारी, जेनी घले, विद्यमान तामाङ, अनिल शाही, मनोज तामाङ योञ्जन, मुना भडेल, नवीन नाल्वो, तिसा श्रेष्ठ, विजेन्द्र श्रेष्ठलगायतले सहभागिता जनाएका छन् ।