संगीतमा रुची राख्ने कलाकार कृति शाह ‘चन्द’ अब कलाकारमा मात्र सीमित हुनु भएन । कवयित्री पनि बन्नु भएको छ । अग्रज तथा विश्व विख्यात चित्रकार शशिविक्रम शाहकी छोरी कृतिको पहिलो कविता संग्रह ‘समिश्रण’ यही चैतमा बजारमा आउँदै छ । २ वटा एकल कला प्रदर्शनी गरी धेरै सामुहिक कला प्रदर्शनीमा सहभागी भइसक्नुभएकी कृतिसहित ५ महिला कलाकारको ‘टुगेदरनेस’ शीर्षकमा नेपाल कला परिषद बबरमहलमा कला प्रदर्शनी हुँदैछ । सोही कार्यक्रममा ‘समिश्रण’को विमोचन पनि हुने छ । सोही विषयमा उहाँसँग गरिएको कुराकानीः
भिडिओ यहाँ:
तपाँईले कविता लेख्न थालेको कति भयो, रुचि कसरी जाग्यो?
लेख्न थालेको दश/पन्ध्र वर्ष भयो । स्मृति बहिनीले कविता राम्रो रहेछ दिदी छापिहालौँ भन्नुभयो र छापौँ न त भनेर छाप्न थालेको हो । मलाई कवितामा रुचि चाहिँ मान्छेले जीवनमा ठक्कर र हण्डर खाएपछि आफैँ मनमा भावनाहरु जगृत हुँदो रहेछ । पारिवारिक रुपमा त हैन, म खुशी नै छुु तर सामाजिक जीवनमा धेरै ठक्कर र हण्डर खाइयो । त्यस्तो बेलामा कविता फुर्दो रहेछ । कहिले कसैप्रति माया, प्रेम जागृत भएका बेलामा, कहिले आफैँ मनमा भावनाहरु ‘कता पोखम-कता पोखम्’ भएका बेलामा कापीरूपी क्यान्भासमा कवितारूपी कला पोखेको जस्तै हो । त्यो भनेको क्यानभासमै कविता हो । मैले भन्न खोजेको कुरा के हो भने चित्रकारितामा धेरै राम्राराम्रा कला बनाउने मेरा साथीहरु नै छन् । म आफूाई चाहिँ मध्यमखालको ठान्छु । म गीतसंगीत पनि गर्छु । हल्का गाउँछु पनि । त्यसमा पनि म भन्दा राम्रो गाउने हजारौँ छन् । तर कवितामा चाहिँ म राम्रै लेख्छु भन्ने मलाई बढी कन्फिडेन्स छ ।
यहाँको आउन लागेको कविता संग्रहको बारेमा केही बताइदिनुस् न?
मेरो आउन लागेको कविता संग्रह ‘समिश्रण’ हो । समिश्रण नै शीर्षक किन राखेँ भन्दा, एउटा कविता समिश्रण शीर्षक नै मैले लेखेको छु । त्यसको भाव भनेको मेरो श्रीमानको जीन्दगीमा म विस्तारै मिश्रित हुँदै जानु नै मैले उहाँप्रति दर्शाएको प्रेम भावना हो भन्ने बुझेको छु । आफू उहाँको जीन्दगीमा समिश्रित हुँदै गएको जस्तो मलाई भान हुन्छ ।
गीत–संगीतमा पनि यहाँको रुची रहेछ, संगीतका पनि कुरा सुनौँ न ?
सन् २००५ मा म भारतको दिल्लीमा कलाकारिता सिक्नका लागि गएको थिएँ । त्रिवेणी भन्ने ठाउँमा गीतसंगीत पनि सिकाइन्थ्यो, क्लासिकल डान्स पनि सिकान्थ्यो र पेन्टिङ पनि सिकाइन्थ्यो । मलाई डान्सप्रति त्यति रुची थिएन । पेन्टिङ र भोकलमा मैले त्यहाँ एक वर्ष सिकेको थिएँ ।
नेपालमा चाहिँ हालसालै ख्यातिप्राप्त गायक अमृत सरसँग सुरसालामा पनि भोकल ट्रेनिङ लिएको हुँ । मैले त्यही सिक्छु भनेर लागेको भन्दा पनि बाइ चान्सले त्यो सिक्ने अवसर पाएको हो ।
तीन वटै विधालाई सँगै लानुहुन्छ कि, के सोच राख्नु भएको छ ?
मेरो इन्ट्रेस्टले गर्दा हो तर तीनवटै विधातिर एकै चोटी गहिरो रुपमा लाग्न त सक्दिन । कसैले मलाई भन्छन् पनि कि दुईटा डुंगामा खुट्टा हाल्छौ? भनेर तर म चाँही हल्का रुपमा सबैतिर समानान्तर लाग्दैछु जस्तो लाग्छ ।
एउटै विधा चयन गर्नुपर्दा भने म चित्रकारिता नै गर्छु । किनभने, मेरो बुबा (शशिविक्रम शाह) को विरासतले गर्दा पनि । तथापि म अरु विधा संगीत र कवितालाई पनि छाड्न चाहिँ सक्दिन जस्तो लाग्छ ।
कविता त मन लागेको बेलामा जतिखेर लेख्दा पनि भयो । मनमा प्रस्फुटन भएको बेलामा आफैँ आउँछ अटोमेटिकल्ली । हल्का सरर कापीमा लेख्यो । कहिलेकाहीँ लेख्छु भन्दाभन्दै कविता पनि बिर्सिने हुन्छ । कहिले सम्झेर लेखेको बेलामा भने ठ्याक्क लेखिहालिन्छ । संगीत चाहिँ रेकर्ड गर्ने हिसाबले नै सिक्न गएको हुँ तर अलिक तालमेल मिलेको छैन् ।
कविता लेखन कसरी गर्नुहुन्छ?
मुड चलेको बेलामा लेख्ने हो । मेसिनले लेखेको जस्तो त हैन । मान्छे रोवोट जस्तो त्यसै उत्पादन हुनलाई । मनमा लागेर अनि फिल गरेर रचना गरिने हो । अहिलेको जेनेरेसनलाई त म ल्यापटप जनेरेसन नै भन्छु । खासमा मान्छे भएपछि फिलिङ्स त हुनुपर्यो नि ।
कविता चाहिँ कस्तो वेला बढी फुर्छ?
तपाईँले त अप्ठेरो प्रश्न गर्नुभयो । कविता त कहिले मनमा चोट लागेको बेलामा पनि फुर्छ । कहिले मनमा खुशी लाग्यो भने पनि फुर्छ कविता । कहिले त्यतिकै आनन्द भयो भने फुर्छ । कहिले हर्षमा, कहिले दुखमा पनि फुर्छ ।
कहिले दुइवटैको समिश्रणमा, कहिले अरुप्रति एकदम प्रेमको भावना जागृत भएको बेलामा पनि फुर्छ । हरेक कुरामा कविता फुर्न सक्छ । कसैको दुख देख्दा पनि कविता फुर्न सक्छ । कहिले देशको परिस्थितिमा पनि फुर्छ । जुन तीनकुनेमा हुलदंगा भयो नि त्यसमा मानिसहरु शहिद हुँदाखेरी पनि लेख्न मन लाग्छ ।
भिडिओ
https://www.facebook.com/samriddhisanchar/videos/1188443562901112